थारू समुदायमा अट्वारी पर्वको रौनक
काठमाडौँ, भदौ २९ । थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अट्वारीका अवसरमा दाङसहित पश्चिम नेपालका थारू बस्तीमा आइतबार बिहानैदेखि चहलपहल बढेको छ । पर्वका लागि आवश्यक विभिन्न परिकार बनाउनदेखि पूजाआजासम्मका गतिविधिमा समुदायका सदस्य व्यस्त देखिन्छन् ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि अट्वारी पर्वका लागि आवश्यक रोटी तथा अन्य परिकार बनाउन व्यस्त हुनुहुन्छ। उहाँले आफैँ रोटी तथा परिकार तयार पारेर पूजाआजा गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका १२ का वडाध्यक्ष खुसीराम चौधरी पनि अट्वारी पर्वको तयारीमा व्यस्त हुनुहुन्छ। उहाँले अनदी (अन्डी)को रोटी, खुर्मा, फुलौरी, बरियाललगायतका परिकार तयार पार्नुभएको छ ।
दाङसहित पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले कृष्ण जन्माष्टमीको दोस्रो साताको आइतबार अट्वारी पर्व मनाउने परम्परा रहेको वडाध्यक्ष चौधरी बताउनुहुन्छ । आइतबार मनाइने पर्व भएकाले यसको नाम ‘अट्वारी’ रहन गएको उहाँको भनाइ छ ।
व्रत, पूजा र फलाहारको परम्परा
अट्वारीको अघिल्लो दिन शनिबार राति दर खाने परम्परा छ। त्यसपछि आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ। व्रतपछि पूजाआजा गरिन्छ र पूजा सम्पन्न गरेपछि फलफूल मात्र खाने चलन रहेको चौधरी बताउनुहुन्छ।
सूर्यास्तपछि भने खानपान पूर्ण रूपमा बन्द गर्ने परम्परा छ। त्यसपछि सोमबार बिहानै पूजापाठ गरी ‘फलहार’ गर्ने चलन रहेको छ।
अट्वारीका लागि तयार पारिएका विभिन्न परिकारलाई दुई भागमा छुट्याउने गरिन्छ। एउटा भाग व्रत बसेका परिवारका सदस्यले उपभोग गर्ने र अर्को भाग विवाहित चेलीबेटीलाई ‘अग्रासन’ अर्थात् कोसेलीका रूपमा दिने गरिन्छ।
भोजन ग्रहण गरेपछि दाजुभाइले अग्रासन लिएर विवाहित दिदीबहिनी तथा चेलीबेटीको घरमा जाने प्रचलन छ। माइतीबाट आउने अग्रासनको विवाहित चेलीबेटीले विशेष प्रतीक्षा गर्ने गर्छन्।
विभिन्न परिकारको पोकोसहित अग्रासन लिएर दाजुभाइ दिदीबहिनीको घरमा पुग्दा उनीहरूलाई मानसम्मान गर्ने परम्परा पनि थारू समुदायमा महत्वपूर्ण मानिन्छ। यद्यपि पछिल्लो समय आधुनिक जीवनशैली र सामाजिक परिवर्तनका कारण यो परम्परा क्रमशः कमजोर हुँदै गएको थारू अगुवाहरू बताउँछन्।
भीमको सम्झनामा अट्वारी
अट्वारी पर्व थारू समुदायको धार्मिक तथा सांस्कृतिक विश्वाससँग गहिरोसँग जोडिएको छ। यस अवसरमा महाभारतका पाँच पाण्डवमध्ये माइलो भाइ भीमको पूजा गर्ने परम्परा रहेको छ। थारू समुदायमा भीमलाई ‘भेवा’ नामले सम्बोधन गर्ने गरिन्छ।
अट्वारी पर्वसँग जोडिएको एक किंवदन्तीअनुसार प्राचीन समयमा थारू समुदायको बसोबास रहेको तराई क्षेत्रमा एक राक्षसले उत्पात मच्चाउने, स्थानीयलाई दुःख दिने तथा महिलामाथि जबर्जस्ती गर्ने गरेको थियो। त्यही समयमा भीम तराई क्षेत्रमा आएका बेला उक्त अवस्था देखेपछि राक्षसबाट स्थानीयलाई मुक्ति दिलाएको विश्वास गरिन्छ। सोही घटनाको सम्झनामा भीमको पूजा गर्दै अट्वारी मनाउने गरिएको जनविश्वास छ।
अट्वारी मनाउने प्रचलनसँग अर्को किंवदन्ती पनि जोडिएको छ। उक्त किंवदन्तीअनुसार द्रौपदीसहित पाँच पाण्डव सुर्खेतको काँक्रेविहार पुगेका बेला थारू राजा दङ्गीशरणसँग उनीहरूको घनिष्ठ सम्बन्ध कायम भएको थियो ।
एकपटक भीम रोटी पकाइरहेका बेला राजा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गरेको र भीम रोटी पकाउँदै गरेको तावा छाडेर राजालाई सहयोग गर्न गएको विश्वास गरिन्छ। भीमले तावामा राखेको रोटी गाउँका मानिसले पल्टाउन खोज्दा नसकेको र राजा दङ्गीशरणलाई सहयोग गरेर भीम फर्किएपछि मात्र उक्त रोटी तावाबाट निकालिएको किंवदन्ती छ ।
राजालाई सहयोग गर्न भीम गएको दिन आइतबार परेको विश्वासका आधारमा पनि अट्वारी पर्व आइतबार नै मनाउने परम्परा सुरु भएको थारू अगुवा खुसीराम चौधरी बताउनुहुन्छ ।
यसरी अट्वारी थारू समुदायका लागि धार्मिक आस्था, पौराणिक कथन, पारिवारिक सम्बन्ध र सामाजिक एकताको पर्वका रूपमा स्थापित हुँदै आएको छ। पर्वका अवसरमा तयार गरिने परिकार, व्रत तथा पूजाआजासँगै विवाहित चेलीबेटीलाई अग्रासन दिने परम्पराले थारू समुदायको पारिवारिक सम्बन्धलाई समेत जोड्ने गरेको छ ।