हरितालिका तीज : पशुपतिनाथ मन्दिर क्षेत्रमा कडा सुरक्षा व्यवस्था, हजारौं दर्शनार्थी लाइनमा
काठमाडौं, २९ भदौ । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भीडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनसहितका सेवा सञ्चालन गरेका छन्।
पशुपति क्षेत्रमा बिहान ३ बजी १५ मिनेटदेखि नै चारैवटा ढोका खुला गरिएको थियो। बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमै रहेको प्रहरीले जनाएको छ।
दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन प्रहरीले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ। सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ। सादा पोसाकका प्रहरीसहित बर्दीधारी महिला, पुरुष र विपद् उद्धार प्रहरी परिचालन गरी पशुपति क्षेत्रको सुरक्षा निगरानी थप बढाइएको छ। दुई सिफ्टमा सुरक्षा व्यवस्थापन मिलाइएको छ, जसका लागि २,५०० भन्दा बढी प्रहरी परिचालित छन्। एक सिफ्टमा करिब १,२५० प्रहरी खटिएका छन्।
यसैगरी सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रमा सुरक्षा, स्वास्थ्य र खानेपानी सेवासहित करिब ८०० जनशक्ति परिचालन गरेको छ। गएराति २ बजेदेखि नै दर्शनार्थी व्यवस्थापन, शान्ति सुरक्षा र स्वास्थ्य सेवाका लागि सशस्त्र प्रहरी परिचालित रहेको हो।
मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल, बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स तैनाथ गरिएको छ। प्रधान कार्यालयबाट खानेपानी ट्यांकरसहितको टोली पनि रातिदेखि नै परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोली समेत तयारी अवस्थामा राखिएको छ।
तीजको मेला अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन मन्दिर परिसर तथा वरपरका क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मी समेत व्यापक रूपमा परिचालन गरिएको छ। तिलगंगा, जयबागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर र गौरीघाटलगायतका क्षेत्रमा पनि आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको छ। सुरक्षा निकायबीच आवश्यक समन्वयका लागि पशुपति मन्दिर परिसरमा कमान्ड पोस्ट समेत स्थापना गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दर्शनार्थीको सुरक्षा र सहजताका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ।