फलाखु खोला र स्याफ्रुबेँसीमा तुइन निर्माण, अवरुद्ध आवागमन सहज बन्दै
रसुवा, २९ भदौ । रसुवा–नुवाकोट सडकखण्डमा बाढीले पुल बगाएपछि अवरुद्ध बनेको आवागमन सहज बनाउन वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल यातायात सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आवतजावत पूर्णतः अवरुद्ध भएको थियो। आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ। स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भइसकेको भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक-दुई दिनभित्रै यो पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्मको आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए। समाजसेवी गणेश श्रेष्ठका अनुसार यस फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रहेको थियो।
यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार पारिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।
तत्कालको आवागमन समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको बेत्रावतीको फड्के र स्याफ्रुबेँसीको तुइनले स्थानीयवासीको आवतजावतलाई निकै सहज बनाएको जनाइएको छ। विशेषतः उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवागमन गर्न सहज भएको छ। त्यस्तै बेत्रावतीको फड्के निर्माणपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि आवागमनमा उल्लेख्य राहत मिलेको छ।
स्थानीयवासीले भने अस्थायी फड्के तथा तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माण गर्नुपर्ने माग गरेका छन्। बाढीका कारण भत्किएका सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिई यथाशीघ्र बेलिब्रिज निर्माण गरिदिन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।