लगातार दोस्रो दिन बढ्यो नेप्से, वित्त उपसमूह सर्वाधिक उकालोमा
काठमाडौं, २९ भदौ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार पनि बढेर बन्द भएको नेप्सेले आज सोही प्रवृत्ति निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक २५.५५ अंकले बढी २५८५.०४ विन्दुमा पुगेको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स ४.३४ अंक, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। गत शुक्रबार रु. ४ अर्ब ३६ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३६ कम्पनीको ४९,०७४ पटक कारोबारबाट १ करोड १५ लाख ९५ हजार कित्ता शेयर, अर्थात् रु. ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार बराबरको खरिदबिक्री भएको छ।
आजको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ६.४३ प्रतिशतले बढेको छ। त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत र सृजनशील लघुवित्त वित्तीय संस्थाको करिब ६ प्रतिशतले बढेको छ। यता कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सबैभन्दा बढी ८.२३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो, जसको रु. २४ करोड ९० लाख बराबरको शेयर कारोबार भयो। लिबर्टी इनर्जीको करिब रु. २४ करोड र सानिमा मिडिल तमोर हाइड्रोपावरको रु. २० करोडभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको मात्र घटेको छ। वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी १.६७ प्रतिशतले बढेको छ भने जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको म्युचुअल फन्ड उपसमूहको परिसूचक भने आज सामान्य अंकले घटेको छ।
