गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,  भदौ ३० । विघ्नहर्ता एवं अग्रपूजाका अधिकारी भगवान् श्रीगणेशको जन्मोत्सवका रूपमा मनाइने गणेश चतुर्थीका अवसरमा आज बिहानैदेखि राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा रहेका गणेश मन्दिरमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो। सोही अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेशको जन्मोत्सव मनाइँदैछ ।

शिव र पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक तथा शुभ कार्यमा सबैभन्दा पहिले पूजा गर्ने अर्थात् अग्रपूजाको अधिकार प्राप्त देवताका रूपमा मानिन्छ। हरितालिका तीजको व्रतको पारायणपछि चतुर्थीका दिन गणेशको व्रत तथा पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताउनुभयो ।

गणेश पुराणमा भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख, शान्तिको कामना गर्दै व्रत बसेका व्रतालुले चतुर्थीका दिन जीवनमा कुनै प्रकारको विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने विधान रहेको उल्लेख छ ।

मङ्गल चतुर्थीसमेत भनिने गणेश चतुर्थीलाई नेवार समुदायले ‘चथा’ पर्वका रूपमा मनाउने गर्दछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा रहेको छ। यस वर्ष गणेश चतुर्थी मङ्गलबार परेकाले धार्मिक तथा सांस्कृतिक दृष्टिले थप महत्व रहेको जनाइएको छ ।

गणेश चतुर्थीका अवसरमा राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रम आयोजना गरी पर्व मनाउँदै आएको छ। आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाका साथै प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय धर्मसभाका तर्फबाट विभिन्न गणेश मन्दिरमा पुगेर विशेष पूजा आराधना गर्ने कार्यक्रमसमेत रहेको छ। धर्मसभाले विसं २०६५ देखि गणेश रथयात्रासमेत आयोजना गर्दै आएको छ ।

सामान्यतः भाद्र शुक्ल पञ्चमीका दिन आयोजना गरिँदै आएको गणेश रथयात्रा यस वर्ष पञ्चमी तिथि आजै परेकाले आजै सञ्चालन गरिने धर्मसभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *