भेरी अस्पतालमा ५० शव राख्न सकिने शवगृह विस्तार गरिने

काठमाडौँ, भदौ ३० । नेपालगञ्जस्थित भेरी अस्पतालमा एकैपटक कम्तीमा ५० शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ । बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा एकैपटक ठूलो सङ्ख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिनुभयो ।

हाल अस्पतालको शवगृहमा एकैपटक छ वटा शव मात्र राख्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो। विपद्का समयमा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको हो ।

डा. दर्नालका अनुसार विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले पर्याप्त क्षमताको शवगृह आवश्यक भएको हो। भोटेकोशीमा आएको बाढीबाट प्राप्त अनुभवलाई समेत ध्यानमा राखेर भविष्यमा शव व्यवस्थापनमा समस्या नआओस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

“अहिले भेरी अस्पतालमा छ जनाको शव व्यवस्थापन गर्न सकिने शवगृह छ। यसको क्षमता बढाएर ५० बनाउन मन्त्रालयले निर्णय गरेर परिपत्र पठाएको छ,” उहाँले भन्नुभयो, “यद्यपि बजेट भने पठाएको छैन। भेरी अस्पतालसँग यो संरचना बनाउन पर्याप्त जमिन छ ।”

पश्चिम नेपालकै प्रमुख प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा दैनिक रूपमा आउने शवको सङ्ख्या तुलनात्मक रूपमा बढी भए पनि हालसम्म व्यवस्थापनमा ठूलो समस्या नदेखिएको उहाँले बताउनुभयो । तर, विपद्का समयमा एकैपटक ठूलो सङ्ख्यामा शव आउन सक्ने भएकाले हालको क्षमता अपर्याप्त हुने उहाँको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालले पर्याप्त क्षमताको शवगृह निर्माण भएपछि शवलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न, पहिचान तथा परीक्षण गर्न तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सहज हुने बताउनुभयो ।

नयाँ शवगृहले विपद् व्यवस्थापनका लागि अस्पतालको तयारी तथा प्रतिकार्य क्षमता बढाउनुका साथै फरेन्सिक सेवा र अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकारको निर्णयलाई यथाशीघ्र कार्यान्वयनमा लैजान आवश्यक पहल गरिने कार्यवाहक अध्यक्ष धितालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *