संविधानका उपलब्धि र सुशासनको प्रभावकारी कार्यान्वयनमा कार्यवाहक प्रमुख डंगोलको जोड
काठमाडौँ, असोज ३ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले सुनिश्चित गरेका अधिकार र उपलब्धिलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक प्रमुख डंगोलले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिता संविधानका प्रमुख उपलब्धि भएको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले नेपालको संविधानलाई मूल कानुनी आधारका रूपमा स्थापित गर्न योगदान पुर्याउने ज्ञात–अज्ञात सहिद तथा व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्नुभएको छ । संविधानले सार्वभौमसत्ता जनतामा निहित गरेको तथा मौलिक हक र स्वतन्त्रताको संरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले समानता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।
स्थानीय सरकार नागरिकको आँगनमा रहेको सरकार भएकाले संविधानले सुनिश्चित गरेका अधिकार र नागरिकका आवश्यकता पूरा गर्न स्थानीय तह प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ । कार्यवाहक प्रमुख डंगोलले आफू नागरिकका आवश्यकता सम्बोधन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतामार्फत विविधताको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका तथा सीमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्दै संविधानले परिकल्पना गरेको समावेशी राज्य निर्माणको लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
संविधानका प्रावधानलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी शासन, पारदर्शिता, जवाफदेहिता र सुशासनमा दृढता आवश्यक रहेको उहाँले बताउनुभएको छ । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र साझेदारीलाई थप बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।
कार्यवाहक प्रमुख डंगोलले संविधानले निर्धारण गरेका एकल तथा साझा अधिकारलाई जिम्मेवारीपूर्वक कार्यान्वयन गर्दै तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
समाजवादउन्मुख अर्थतन्त्रको संवैधानिक अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न युवा, महिला, अपाङ्गता भएका व्यक्ति, असमानताबाट प्रभावित वर्ग तथा समुदायको उत्थान, बालमैत्री विकास र ज्येष्ठ नागरिकमैत्री व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभएको छ । यस्ता कार्यक्रममार्फत समतामूलक समाज निर्माण, गरिबी, बेरोजगारी र विभेद न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।
युवाको सिर्जनशीलता, सीप र नवप्रवर्तनमा आधारित सोचलाई प्राथमिकता दिँदै नयाँ पुस्तालाई संविधानका लोकतान्त्रिक मूल्य र नागरिक कर्तव्यसँग जोड्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले संविधान र कानुनको सम्मान, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव तथा लोकतान्त्रिक संस्कारलाई विविधताबीच सहकार्यको आधार बनाउनुपर्ने बताउनुभएको छ ।
महानगरपालिकाले सुशासनको संस्थागत विकास, भ्रष्टाचार नियन्त्रण, सामाजिक-आर्थिक असमानता न्यूनीकरण, रोजगारी सिर्जना तथा विद्युतीय शासनमार्फत सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि साझा संकल्प आवश्यक रहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले संविधानको उच्चतम उपयोग गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
