नेप्से ७.०६ अङ्कले बढेर २६५४.२८ बिन्दुमा, कारोबार रकम पनि बढ्यो
काठमाडौँ, ६ असोज । मङ्गलबार नेप्से परिसूचक ७.०६ अङ्कले बढेर २६५४.२८ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स २.७१ अङ्क, फ्लोट इन्डेक्स ०.५३ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अङ्कले बढेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा मङ्गलबार ३५६ स्टकको ७० हजार ६९१ पटकको कारोबारमा ७ अर्ब पाँच करोड तीन लाख ९८ हजार रुपैयाँ बराबरको दुई करोड १५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ७९ रुपैयाँले बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन्। त्यस्तै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब आठ प्रतिशत बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ५.५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको स्नो रिभर्सको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ, जसको ४४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको करिब साढे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक सामान्य अङ्कले बढेको छ।
