पार्टी, लोकतन्त्र र राष्ट्र संकटमा; एकताको अगुवाइ एमालेले गर्नुपर्छ: प्रदीप ज्ञवाली

 

काठमाडौँ ।  नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले देश, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना गरिरहेको बताउनुभएको छ। जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता ज्ञवालीले सो संकट समाधानका लागि राष्ट्रिय तथा पार्टी एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले नै गर्नुपर्ने धारणा राख्नुभयो।

बैठकमा बोल्दै ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिज्म र अराजकताको जगमा उभिएको शक्ति भएकाले दीर्घकालीन रूपमा असफल हुनु अनिवार्य रहेको दाबी गर्नुभयो। तर, रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने उल्लेख गर्दै उहाँले पार्टीलाई सुदृढ र रूपान्तरित बनाउनुपर्नेमा जोड दिनुभयो।

पार्टीभित्र ध्रुवीकरण र भावनात्मक विभाजन

नेता ज्ञवालीले एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेकाले त्यसलाई चिर्न पार्टीभित्र बलियो संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताउनुभयो।

निर्वाचनपछिको स्थितिलाई लिएर पार्टीभित्र विकसित बहसले ध्रुवीकरण बढाएको र भावनात्मक विभाजन सिर्जना गरेको उहाँको भनाइ थियो। निर्वाचनको परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा जगाउनुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको, अध्यक्षलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको र यसले पार्टीका नियमित काम समेत प्रभावित भएको ज्ञवालीले टिप्पणी गर्नुभयो।

कार्यदलको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सुझाव

कार्यदलको प्रतिवेदनलाई एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै ज्ञवालीले त्यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओली स्वयंले गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ओली अब आन्तरिक संघर्षमा नभई योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

पार्टीले व्यहोर्नुपरेको धक्काको मुख्य कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको उहाँले औंल्याउनुभयो। स्थानीय तहका प्रतिस्पर्धा र द्वन्द्वलाई सही ढंगले व्यवस्थापन गर्दै नयाँ विधिमार्फत बलियो एकता कायम गर्नुपर्ने उहाँले बताउनुभयो।

‘छुट्टै प्रतिवेदन छैन, असहमति सामाजिक सञ्जालमा पोख्नु गलत’

बैठकमा उठेको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’ सम्बन्धी चर्चाबारे स्पष्ट पार्दै उहाँले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको प्रस्ट पार्नुभयो। पार्टीमा समस्या पर्दा समन्वयकारी भूमिका खेल्नु गल्ती नभएको भन्दै उहाँले ध्रुवीकरणका बेला कुनै एक पक्षमा उभिएर अतिवादी धारणा राख्दैमा समस्या समाधान नहुने बताउनुभयो।

साथै, पार्टीभित्रका आन्तरिक विषयलाई मिडिया ट्रायल गर्ने र असहमति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै ज्ञवालीले यस्ता कार्यले क्षणिक चर्चा दिलाए पनि दिगो नेतृत्व निर्माण गर्न नसक्ने टिप्पणी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *