मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरी पक्राउ
काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार केहीबेरअघि नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रसाईँविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।
प्रसाईँले सांसद खतिवडालाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रसाईँलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो लगिएको बताइएको छ । प्रसाईँ यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन् ।
