नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं, १२ असाेज । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १६ अंकभन्दा बढीले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेको बजार सोमबार भने ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३४ अंक, फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंकले घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि केही घटेको छ । सोमबार ३५७ स्टकको ५८ हजार ५०० पटकको कारोबारमा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस क्रममा १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ ।
गत बिहीबार बजारमा ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ । त्यस्तै, ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत तथा ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ को मूल्य करिब ९ प्रतिशतले बढेको छ ।
यता, कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको साढे २९ करोड रुपैयाँभन्दा बढी र हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा एक उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ ।
