मनाङमा अलपत्र १६ इन्डोनेसियाली पर्यटकको हेलिकप्टरबाट उद्धार
लमजुङ, १५ असोज । मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ । डाइनेस्टी हेलिकप्टरमार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका–१ घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीमा ल्याइएको हो ।
अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि गएका उनीहरू असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि घताङ एग्रो क्षेत्रमा अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतका अनुसार सडक तथा पदमार्गको अवस्था सहज नभएपछि उनीहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
उद्धार गरिएका पर्यटकलाई लमजुङ ल्याएपछि ग१ज ३७४० र बाप्र०१–००७ ख १६८० नम्बरका सवारीसाधनमार्फत पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण अन्नपूर्ण पदमार्ग तथा बेँसीसहर–चामे सडकखण्ड प्रभावित भएपछि पर्यटकको आवतजावतमा समस्या भएको थियो । पदमार्ग र सडकको अवस्था सहज नभएपछि अलपत्र पर्यटकको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको हो ।
उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो ।
