कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास : युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही फरक अभ्याससहित हुँदैछ । गत विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ व्यवस्था अपनाइँदैछ ।
कांग्रेसका अनुसार यसपटक महाधिवेशनमा देखिने प्रमुख नयाँ अभ्यास यस्ता छन् :
१. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व
कांग्रेसले ३५ वर्षमुनिका युवाको पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको हो ।
२. केन्द्रमा २१ युवा सदस्य
केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन् । प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ ।
३. महिलाका लागि कम्तीमा एकतिहाइ प्रतिनिधित्व
पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यस व्यवस्थाले वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको छ ।
४. सहमहामन्त्रीको संख्या बढ्यो
यसपटक सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्याइएको छ । समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ ।
५. ‘ल्याटरल इन्ट्री’को व्यवस्था
राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्तामात्र नभई विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई समेत पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ । यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
६. विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा प्रतिनिधित्व
नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई केन्द्रीय संरचनामा प्रतिनिधित्व गराउनेछ ।
७. समावेशी प्रतिनिधित्व थप फराकिलो
अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई पनि केन्द्रीय समितिमा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई समेत समेटिएको छ ।
८. २३२ सदस्यीय केन्द्रीय संरचना
नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ । त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
९. प्यानल नबनाउने घोषणा
यसपटक नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ । प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने कांग्रेसको भनाइ छ ।
१०. प्रदेशगत समूहमा बन्दसत्र
करिब ७ हजार ५ सय प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउनुको सट्टा छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ ।
११. तीनवटा संरचनामा बन्दसत्र
खुलामञ्चमा हुने बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ । ती हलको नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ राखिएको छ । ठूलो संख्यामा रहेका प्रतिनिधिलाई व्यवस्थित रूपमा छलफलमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
१२. प्रतिवेदन डिजिटल रूपमा उपलब्ध
महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट पनि प्रतिनिधिलाई उपलब्ध गराउने तयारी गरिएको छ । यसले कागजी दस्तावेजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।
१३. छलफलको अभिलेख राखिने
महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई अभिलेखका रूपमा सुरक्षित गरिनेछ । प्रतिनिधिबाट प्राप्त सुझाव समेटेर अन्तिम दस्तावेज तयार गर्ने तयारी कांग्रेसको छ ।
१४. डिजिटल मतदानको प्रयास
कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरेको थियो । तर प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने निर्णय गरिएको छ ।
१५. प्रचारशैलीमा परिवर्तन
यसपटक काठमाडौँका विभिन्न स्थानमा ठूला गेट, होर्डिङ बोर्ड, तोरण तथा अत्यधिक झण्डा राखेर प्रचार गर्ने शैलीलाई निरुत्साहित गरिएको छ । उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ । उम्मेदवारले पर्चा छापेर मतदानस्थलमा वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ ।
१६. उद्घाटन र बन्दसत्र एउटै स्थानमा
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौँको खुलामञ्चमै सञ्चालन गरिँदैछ । ठूलो संख्यामा प्रतिनिधिको व्यवस्थापनलाई ध्यानमा राखेर खुलामञ्चमै आवश्यक संरचना तयार गरिएको छ ।
१७. डिजिटल प्रविधिको व्यापक प्रयोग
महाधिवेशनमा प्रतिनिधिलाई सूचना तथा दस्तावेज उपलब्ध गराउन डिजिटल माध्यमको प्रयोग बढाइएको छ । बन्दसत्रका विभिन्न हलमा डिजिटल बोर्डको व्यवस्था गरी एउटा हलमा भइरहेको छलफल अन्य हलमा रहेका प्रतिनिधिले समेत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको छ ।
१८. तामझाम घटाएर प्रविधिमैत्री महाधिवेशन
यसपटक महाधिवेशनमा विगतको तुलनामा भौतिक प्रचार सामग्री तथा अनावश्यक तामझाम घटाएर डिजिटल माध्यमलाई प्राथमिकता दिइएको छ । कांग्रेसले महाधिवेशनलाई व्यवस्थित, समावेशी र प्रविधिमैत्री बनाउने प्रयास गरेको जनाएको छ ।
