नुवाकोटमा बाढीपीडितका घर सफा गर्दै ८४ वर्षीय कोरियाली स्वयंसेवक

नुवाकोट, १८ असोज । विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमाले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले नुवाकोटमा बाढीपीडितका घर तथा बस्तीको सरसफाइमा जुटेको छ।

गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले विदुर नगरपालिका–१ ढुङ्गे बजारमा बाढीबाट प्रभावित घरहरू सफा गरिरहेको छ। टोलीले १० दिनसम्म प्रभावित क्षेत्रमा सरसफाइ तथा पुनःस्थापनाको काम गर्ने अनुमति लिएको छ।

टोलीले चर्को घामको समेत प्रवाह नगरी बाढीले घरभित्र थुपारेको माटो हटाउने, ढुङ्गा फाल्ने, भाँचिएका बिम तथा काठ हटाउनेलगायतका काम गरिरहेको छ। वडाध्यक्ष लेनिन रञ्जितले दिएको अनुमतिपत्रको प्रतिलिपिसमेत सरसफाइ भइरहेको घरअगाडि राखेर टोली काममा खटिएको छ।

लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी छन्। टोलीका सदस्य किम साङ्ग कि ८४ वर्षका हुनुहुन्छ। वृद्ध उमेरमा समेत अर्काको देशमा आएर विपद्पीडितको घर सफा गरिरहेको देख्दा स्थानीय बासिन्दा स्वयंलाई समेत सामाजिक सेवामा लाग्न प्रेरणा मिलेको बताएका छन्।

‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डी कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टोलीले बाढीबाट क्षतिग्रस्त घर तथा बस्तीलाई पुनः बस्नयोग्य बनाउने काम गरिरहेको हो।

टोली नेता लि खाङ उले एक समुदाय विपद्मा पर्दा अर्को समुदायले मानवीय सहयोग गर्नुपर्ने भावनासहित आफूहरू नेपाल आएको बताउनुभयो। विपद्का समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्नुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन टोलीले काम गरिरहेको उहाँको भनाइ छ।

उहाँले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पका समयमा समेत आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गर्नुभयो। उहाँका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु’ टोलीले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ।

नेपाल र कोरियाका लायन्सबीच कायम भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो। लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न अभियानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

विपद् व्यवस्थापन राज्य वा कुनै एक संस्थाको मात्र दायित्व नभई समुदाय, देश र अन्तर्राष्ट्रियस्तरमा समेत साझा जिम्मेवारी भएको सन्देश कोरियाली टोलीको सेवाले दिएको छ। टाढाको देशबाट आएर बाढी प्रभावित बस्तीमा स्वयंसेवा गर्नुले विपद्का बेला मानवीय एकता र सहकार्यको महत्वसमेत उजागर गरेको छ।

दश दिने सेवा कार्यक्रमका लागि नेपाल आएको कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टोली आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिनुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ जनाको मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता भएका छन् भने हजारौँ घर बगेका छन्। भग्नावशेष व्यवस्थापनका लागि नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा विभिन्न निकायबाट एक्स्काभेटर, ब्याकहो लोडर, टिप्पर तथा जनशक्ति परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *