दसैँअघि सबै सडक सञ्चालन योग्य बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन
काठमाडौँ, असोज १८ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लाका सबै सडक मर्मत गरी यातायात सञ्चालनयोग्य बनाउन सम्बन्धित स्थानीय तह र कार्यालयलाई निर्देशन दिएको छ । समितिको बैठकले चाडपर्वका समयमा यात्रुको आवागमन सहज बनाउन वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडकको तत्काल मर्मतसम्भार गरी दसैँअघि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
मध्यपहाडी लोकमार्गबाहेक जिल्लाका अधिकांश ग्रामीण सडक कच्ची रहेकाले वर्षा हुनासाथ यातायात अवरुद्ध हुने गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका वडासम्म ग्रामीण सडकको पहुँच पुगे पनि सडक कालोपत्र नहुँदा वर्षायाममा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ। सामान्य अवस्थामा समेत ग्रामीण सडकमा वर्षको करिब छ महिना मात्र यातायात सञ्चालन हुने गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले चाडपर्वअघि ग्रामीण सडक मर्मत गरी नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो । “आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिकाको हो। यसमा हामी पनि समन्वय गर्छौँ,” उहाँले भन्नुभयो ।
चाडपर्व मनाउन गाउँ फर्किने नागरिकले सडकका कारण सास्ती व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनका तर्फबाट आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो ।
समितिले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी-जयरामघाट सडकखण्डलाई २४ सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। खोटाङसँगै भोजपुरका स्थानीयले समेत प्रयोग गर्ने उक्त सडकको नियमित सञ्चालनका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट-दिक्तेल सडक आयोजना तथा सम्बन्धित स्थानीय तहबीच समन्वय गरी आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।
बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणका लागि प्राप्त दोस्रो किस्ताको रकमसमेत अनुमोदन गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ का सुविन श्रेष्ठ र कुमार श्रेष्ठलाई निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणका लागि दोस्रो किस्ताबापत प्राप्त तीन लाख ४० हजार रुपियाँ वितरण गरिएको अनुमोदन गरिएको हो ।
यसैगरी, गत साउन १५ र २५ तथा भदौ १ गते परेको अविरल वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा, वडा नं १० पाथेका र वडा नं ११ खार्मीमा सडकतर्फ निर्माण गरिएको तटबन्धमा पुगेको क्षति मर्मतका लागि बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गरिएको सिफारिसलाई पनि बैठकले अनुमोदन गरेको छ ।
जिल्लामा सम्भावित विपद्का घटनाको प्रभावकारी प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित सरोकारवालाको सहभागितामा व्यवहारिक अभ्यास सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
