कांग्रेसले निरन्तरताको क्रमभङ्ग गरेर देशको नेतृत्व गर्नुपर्छ: नेकपा संयोजक दाहाल
काठमाडौँ, १८ असोज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गर्दै नेपाली कांग्रेसले अब देशको नयाँ नेतृत्व लिनुपर्नेमा जोड दिनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले नवनिर्वाचित कांग्रेस सभापति गगनकुमार थापालाई बधाई दिनुभयो। उहाँले थापाले पार्टी नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ अघि बढाएको टिप्पणी गर्नुभयो।
आफू प्रधानमन्त्री हुँदा गगन थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै संयोजक दाहालले भन्नुभयो, “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ। मैले पहिले नै अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु।” उहाँले थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने र त्यसका लागि आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पार्टी एकता र शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन आग्रह
सम्बोधनका क्रममा संयोजक दाहालले कांग्रेसभित्र असन्तुष्ट रहेका वा छुटेका नेता तथा समूहहरूलाई समेटेर पार्टीलाई थप एकताबद्ध बनाउन सभापति थापालाई आग्रह गर्नुभयो।
यस्तै, तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएको विस्तृत शान्ति सम्झौताका कतिपय कामहरू अझै टुङ्गिन बाँकी रहेको उल्लेख गर्दै उहाँले ती कार्यहरू पूरा गर्ने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको बताउनुभयो। “शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ। यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, त्यसैले यो दायित्व पनि गगन थापाले पूरा गर्नुपर्नेछ,” उहाँले भन्नुभयो।
मुलुकमा लोकतन्त्र र गणतन्त्रमाथि अझै पनि जोखिम कायमै रहेको औँल्याउँदै संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र देशको समृद्धि तथा विकासका लागि प्रमुख राजनीतिक शक्तिहरूबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
