भोटेकोशी बाढीले जलवायु परिवर्तनअनुकूल नीति बनाउन सचेत गरायोः विज्ञ

काठमाडौँ, १८ असोज । हालैको भोटेकोशी बाढी, त्यसको प्रभाव तथा भावी योजनाबारे केन्द्रित रहेर काठमाडौँमा आइतबार खुला बहस गरिएको छ।

विद्यासागर फाउण्डेसनको आयोजनामा भएको बहसमा जलवायु परिवर्तन, विपद् व्यवस्थापन र जलवायु न्यायका विषयमा विज्ञ, नीति निर्माता, सांसद तथा सरोकारवालाबीच छलफल भएको हो।

कार्यक्रममा पूर्वाधार तथा जलवायु विज्ञ डा. गोविन्दराज पोखरेल, नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका जानकार डा. पूर्णबहादुर सिलवाल, प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा राना मगरलगायत सहभागी थिए।

कार्यक्रममा बोल्दै डा. पोखरेलले भोटेकोशी बाढीले जलवायु परिवर्तनलाई ध्यानमा राखेर नीति निर्माण गर्न सचेत गराएको बताउनुभयो। हालैको बाढी आगामी दिनमा आउन सक्ने जोखिमको संकेत मात्र भएको उल्लेख गर्दै उहाँले समयमै सचेत नभए यसको प्रभाव अझ गम्भीर हुन सक्ने बताउनुभयो।

उहाँले नदी तथा खोलाबाट कति दूरीमा घर निर्माण गर्ने, पुलको उचाइ कति कायम गर्ने र कुन स्थानमा संरचना निर्माण गर्ने भन्ने विषयमा वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउनुभयो। यस्ता अध्ययनका आधारमा मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्नसमेत उहाँले सरकारलाई सुझाव दिनुभयो।

प्रतिनिधिसभा सदस्य राना मगरले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि नेपाललगायत हिमाली क्षेत्रका नागरिकले त्यसको ठूलो असर व्यहोर्नुपरेको बताउनुभयो।

उहाँले हिमनदी पग्लने क्रम तथा जलवायु न्यायका विषयमा नेपाल, भारत र चीनले एकजुट भएर नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो। हिमाली क्षेत्रमा रहेका तीनवटै देशका लागि जलवायु परिवर्तनको असर न्यूनीकरण र जलवायु न्याय सुनिश्चित गर्नु क्षेत्रीय दायित्व हुनुपर्ने उहाँको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *