विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम
प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ
चितवन, १९ असोजः अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्व बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ तय गरिएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदैछ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ।
दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ। गत सातादेखि भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकलाई अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जानकारी गराउँदै आएका छन्।
सङ्घको मुख्य आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा असोज २३ गते विशेष कार्यक्रम आयोजना हुँदैछ। सो दिन बिहान ७ बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढस्थित सहिद चोकमा पुगेर समापन हुनेछ। अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा दैनिक आहारमा यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले एग वाक आयोजना गर्न लागिएको हो।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल छलफलसमेत आयोजना गरिनेछ। छलफलमा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकालगायत विषयमा विमर्श गरिने सङ्घले जनाएको छ।
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब छ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन र लेसिथिनलगायत शरीरका लागि आवश्यक पोषक तत्व पाइन्छन् । अण्डामा भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कलगायत पोषक तत्वसमेत पाइने उहाँले बताउनुभयो ।
अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्ने डा. अधिकारीको भनाइ छ। अण्डामा रहेको कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा सहयोग गर्ने तथा पहेँलो भागमा पाइने ल्युटिन र जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पुर्याउने उहाँले बताउनुभयो ।
अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्वपूर्ण हिस्सा मानिँदै आएको छ । विगतमा अण्डाको पहेँलो भाग खान नहुने धारणा रहे पनि पछिल्लो समय यसको पोषणीय महत्व बारे थप जानकारी सार्वजनिक हुँदै आएको छ ।
चार वर्षअघि कुखुरापालक किसान विस्थापित हुने अवस्था आएपछि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजारीकरणमा काम गर्दै आएको छ। सङ्घका अनुसार पछिल्लो समय किसानले लागत मूल्य पाउन थालेपछि कुखुरापालन क्षेत्रमा नयाँ किसानसमेत आकर्षित भएका छन् ।
अण्डाको उत्पादन बढेसँगै खपतसमेत वृद्धि गर्ने उद्देश्यले पोषण तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पोखरेलले बताउनुभयो। लामो समयसम्म उत्पादन लागतअनुसार मूल्य नपाउँदा किसान विस्थापित हुने अवस्था आए पनि सङ्घको पहलपछि पछिल्ला दिनमा किसानले लागतअनुसारको मूल्य पाउन थालेको उहाँको भनाइ छ ।
