निसी खोलाको बाढीले झिवा खोलाको बस्ती बगरमा परिणत

बाढीले धार परिवर्तन

काठमाडौँ, असोज १९ । लगातारको वर्षापछि निसीखोलामा आएको भीषण बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका ४ स्थित झिवाखोला र कानाबगर बजारको ठूलो क्षेत्र बगरमा परिणत भएको छ । बाढीले घर, विद्यालय, सडक, प्रहरी चौकीलगायत भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयवासी विस्थापित भएका छन् ।

निसीखोलाको जलसतह एक्कासि बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो । असोज ११ गते बिहान आएको बाढीले झिवाखोलामा २४ घर बगाएको तथा २१ घरमा क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ । बाढीले घरको जग र आसपासको जमिनसमेत कटान गरेपछि कतिपय परिवारलाई आफ्नै घर रहेको स्थान पहिचान गर्नसमेत कठिन भएको छ ।

झिवाखोलाकी डिलकुमारी रेग्मीको घर पनि बाढीले बगाएको छ । “मेरो घर यही थियो, अहिले घरमाथिबाट निसीखोला बगिरहेको छ । जीवनको ४० वर्ष नाघ्यो, यत्रो बाढी निसीखोलामा कहिल्यै आएको थिएन,” उहाँले भन्नुभयो । घर तथा जग्गा बाढीले बगाएपछि दुई छोरासहित आफन्तको घरमा आश्रय लिएर बस्नुपरेको उहाँले बताउनुभयो ।

स्थानीय मिलन हमालका अनुसार बाढी आउने सामान्य अनुमान भए पनि यति ठूलो बाढी आउने अपेक्षा कसैले गरेका थिएनन्। बाढीका कारण विद्यालयमा क्षति पुगेको तथा धेरै स्थानीयले घरभित्रका सामानसमेत सुरक्षित स्थानमा सार्न नपाएको उहाँले बताउनुभयो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बाढीले झिवाखोला बजार र कानाबगर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । निसीखोला किनारमा रहेको मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी पक्की सडक बाढीले कटान गरेपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ ।

बाढीबाट निसीखोला  ४ स्थित निसीखोला आधारभूत अस्पताल, विद्यालय र झिवाखोला प्रहरी चौकीमा समेत क्षति पुगेको छ। प्रहरी चौकीमा क्षति भएपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक तथा नहर बाढीले बगाएको छ भने एउटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

बाढीबाट विस्थापित परिवारलाई प्रारम्भमा जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा निर्माण गरिएको अस्थायी शिविरमा राखिएको थियो। अहिले भने आफन्त तथा छिमेकीको घरमा कोठा खोजेर अस्थायी बसोबासको व्यवस्था मिलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिका ४ का वडाध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो । “राहत लिएर मात्र लामो समय शिविरमा बस्न सकिँदैन, पीडित परिवारलाई सुरक्षित रूपमा बस्ने ठाउँ आवश्यक छ,” उहाँले भन्नुभयो ।

वर्षौँदेखि बस्दै आएको बस्ती एकै रातमा बगरमा परिणत भएपछि स्थानीयवासीका लागि पुनःस्थापना मुख्य चुनौती बनेको छ। घरजग्गा नै बाढीले कटान गरेपछि विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

यसैबीच, अविरल वर्षापछि आएको पहिरोमा परी निसीखोला गाउँपालिका ३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक तथा उहाँका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् । त्यस्तै, पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका ६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो ।

बाढी तथा पहिरोका कारण निसीखोला गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । गाउँपालिका ४ कै चिनारेमा पहिरोका कारण १० घर विस्थापित भएका छन् । लगातारको वर्षा र विपद्बाट विस्थापित परिवारको तत्कालीन व्यवस्थापनसँगै सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण चुनौतीपूर्ण बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *