नेपाली कांग्रेसको आजदेखि बन्द सत्र : असोज २२ मा निर्वाचन

कांग्रेस १५औँ महाधिवेशन

काठमाडौँ, असोज १९ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुने भएको छ । महाधिवेशनको बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा पेस हुने प्रतिवेदनबारे केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिनेछ । त्यसअघि आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिलाई तीनवटा हलमा विभाजन गरी बन्दसत्र सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।

यसैबीच, महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सो नामावलीउपर बेलुका ५ देखि ६ः३० बजेसम्म दाबी विरोधको समय तोकिएको छ भने बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

असोज २० गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबी विरोधको समय निर्धारण गरिएको छ । बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सो दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ । कांग्रेसले महाधिवेशनको बन्दसत्रसँगै नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *