पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने

पर्यटन क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज

काठमाडौँ,  असोज १९ । पर्यटन क्षेत्रका साझा समस्या पहिचान तथा समाधानका लागि विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहभागितामा ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा आइतबार साँझ बसेको पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको बैठकले साझा समस्या समाधानका लागि महासङ्घ गठन गरी अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा नेपाल पर्यटन बोर्ड, टान, होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), पाट्टा नेपाल, नारालगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रस्तावित महासङ्घले पर्यटन क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ । बैठकले एकीकृत समूह, अवधारणा र आवाजका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकले भदौ १० गतेको बाढी तथा विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्का कारण अझै बेपत्ता रहेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै मृतक तथा बेपत्ता पर्यटनकर्मी र उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

विपद्का पीडितको स्मृतिमा अन्तर्राष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले लामो समयपछि पर्यटन क्षेत्रलाई समयानुकूल बनाउन नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा बैठकले नेपालको भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक विविधता, पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित तथा दिगो पर्यटन विकास सुनिश्चित गर्ने गरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमबारे समेत छलफल भएको थियो । निजी क्षेत्रका प्रतिनिधिले वर्तमान पर्यटन बजार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र पर्यटन उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै बोर्डको बजेटलाई थप पर्यटनमैत्री, व्यवसायमैत्री, परिणाममुखी तथा परिवर्तनकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

पर्यटन प्रवद्र्धनलाई बजेट खर्चमा मात्र सीमित नगरी बजार अनुसन्धान, अन्तर्राष्ट्रिय बजारीकरण, डिजिटल तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, नयाँ पर्यटक बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्नुपर्नेमा बैठकले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *