दसैँअघि नै सञ्चालनमा आउने लक्ष्यसहित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट, १९ असोज । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडानको काम सुरु भएको छ। यही बुधबारदेखि पुल जडान सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री सेनाले धादिङको बैरेनी र बाराबाट मौज्दातबाट ल्याइरहेको छ। उनका अनुसार आजसम्म सबै सामग्री वेत्रावती आइपुग्नेछन् र बुधबारदेखि सेनाको ५५ जनाको टोलीले जडान कार्य थाल्नेछ।

सामान्यतया पुल जडानमा तीन दिन लाग्ने भए पनि पुरानो संरचना (जिप) होचो भएकाले यसपटक थप दुई मिटर उचाइ बढाइएको छ। थपिएको संरचना सुक्न समय लाग्ने भएकाले दसैँको फूलपातीसम्मलाई लक्ष्य राखिएको चौलागाईंले बताए।

यसअघि वेत्रावतीमा रहेको पुलको संरचना भोटेकोशीको बाढीले बगाएको थियो। सोही स्थानमा ७४ मिटर लामो, ५.५ मिटर चौडा र ६० टन भारवहन क्षमता भएको नयाँ एक्रोब्रिज निर्माण गरिँदैछ।

गल्छी–रसुवागढी सडक योजना कार्यालयले वेत्रावतीसम्म सडक पहुँच खोलेपछि निर्माण कार्यले गति लिएको हो। सडक पहुँच पुग्नुअघि नै सेनाले वैकल्पिक मार्गबाट स्थलगत अध्ययन (रेक्की) र संरचना उचाइ थप्ने काम सम्पन्न गरिसकेको थियो।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडकखण्ड शनिबारदेखि नै सञ्चालनमा आइसकेको छ। दसैँअघि नै फलाखुमा पुल निर्माण सम्पन्न भए नुवाकोटबाट रसुवाको धुञ्चेसम्मको सडक सम्पर्क पुनःस्थापित हुनेछ, जसले बाढीपछि अवरुद्ध बनेको रसुवाको दैनिक जनजीवन सहज बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *