सडक अवरुद्ध हुँदा सोह्रश्राद्धमै सुनसान बन्यो मुस्ताङको कागबेनीधाम
मुस्ताङ,१९ असोज । चाडपर्वमा चहलपहल हुने मुस्ताङको कागबेनी तीर्थस्थल यसपटक गुमनाम बनेको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम असोज ८ गतेदेखि नै पूर्ण सुनसान बनेको हो।
दिवङ्गत पितृको सम्झनामा कागबेनीधामको कालीगण्डकी नदी तटमा पिण्डदान, तर्पण र श्राद्ध गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वासका कारण वर्षेनि सोह्रश्राद्ध तिथिमा सयौँ तीर्थालु यहाँ आउने गर्छन्। तर यसपालि भदौ १० को रसुवा बाढी र असोज ८ गतेदेखिको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले सडक अवरुद्ध हुँदा तीर्थालुको सङ्ख्या लगभग शून्यमा झरेको छ।
कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाका अनुसार सोह्रश्राद्धको आठौँ दिनसम्म आइपुग्दा एक प्रतिशत पनि तीर्थालु कागबेनी आउन सकेका छैनन्। विगतमा दैनिक ५०० जनासम्म पुग्ने तीर्थालुको सङ्ख्या यसपालि दैनिक दुई–तीन जनामा सीमित भएको र आठौँ दिनसम्ममा जम्मा डेढ दर्जन जतिले मात्र श्राद्ध गरेको उनले बताए, जसमध्ये धेरैजसो जिल्लाभित्रकै कर्मचारी रहेका छन्।
सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट आएका एक दर्जनभन्दा बढी पुजारी श्राद्ध नगराई फर्किसकेका छन् भने धर्मशालामा कार्यरत आठमध्ये तीन पुजारी पनि घर फर्किसकेको कोइरालाले जानकारी दिए। विगतमा सय बढी पुजारी-पण्डित यहाँ आइरिने गरेकामा यसपालि त्यस्तो उपस्थिति शून्य प्रायः छ।
सडक अवरुद्धले कागबेनीधाम मात्र होइन, मुक्तिनाथ मन्दिरसमेत पर्यटकविहीन बनेको छ, जसले गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड मानिने यस क्षेत्रको पर्यटनलाई ठूलो असर पारेको छ।
होटल याक डोनाल्सकी सञ्चालिका एवं पर्यटन व्यवसायी लक्ष्मी गुरुङका अनुसार यो समय पर्यटकका लागि सबैभन्दा अनुकूल याम भए पनि सडक अवरुद्धले होटल बुकिङ नै रद्द हुन थालेका छन्। “मुस्ताङको सिजनल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ,” उनले भनिन्।
भारी वर्षाले मुस्ताङमा पर्यटन मात्र नभई कृषक, यातायात व्यवसायी र उद्योगीलाई समेत असर पारेको गुरुङले बताइन्। स्याउ किसानले उत्पादन बेच्न नपाएको, अलपत्र परेका पर्यटक बैंकिङ सेवा अवरुद्ध हुँदा भुक्तानी गर्न नसकेर समस्यामा परेको र इन्धन अभावले विकास निर्माणका काम समेत ठप्प बनेको उनले उल्लेख गरिन्। सोह्रश्राद्धताका सामान्यतया ५० हजारभन्दा बढी पर्यटक कागबेनी आउने गरेकामा यसपटक त्यो अवस्था सर्वथा नरहेको गुरुङको भनाइ छ।
