सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सक पुनः आमरण अनशनमा
काठमाडौँ,१९ असोज । एमबिबिएस इन्टर्न चिकित्सक डिल्ली हरिजन सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बस्नुभएको छ। उहाँले एमबिबिएस/बिडिएस इन्टर्न चिकित्सकसँग भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग राख्दै चिकित्सा शिक्षा आयोगको प्राङ्गणमा अनशन सुरु गर्नुभएको हो।
आन्दोलनरत चिकित्सकले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले गम्भीर पहल नगरेको आरोप लगाउँदै हरिजनले जायज मागको सुनुवाइका लागि नै पुनः अनशन बस्न बाध्य भएको बताउनुभयो।
इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको उचित मूल्याङ्कन गर्नुपर्नेलगायतका माग राखेर उहाँले गत साउन १९ गते माइतीघर मण्डलामा आमरण अनशन सुरु गर्नुभएको थियो। सरकारले साउन २२ गते पाँचबुँदे सहमति गरेपछि उहाँले अनशन तोड्नुभएको थियो।
पाँचबुँदे सहमतिमा इन्टर्नसीप अवधिभर स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने विषयमा छलफल, स्वीकृत शुल्कबाहेक थप शुल्क लिन नपाउने व्यवस्था, छात्रावासलाई वैकल्पिक बनाउने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुरूप समान बनाउन समिति गठन गर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनेजस्ता विषय समेटिएका थिए।
हरिजनले आफ्नो माग व्यक्तिगत नभई हजारौँ एमबिबिएस तथा बिडिएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको विषय भएको बताउनुभयो। सहमति कार्यान्वयन भएमा यसको सकारात्मक प्रभाव आगामी पुस्ताका विद्यार्थी तथा चिकित्सकसम्म पुग्ने बताइन्छ।
