लगातार दोस्रो कारोबार दिन घट्यो नेप्से, १ प्रतिशतभन्दा बढी घट्यो जलविद्युत उपसमूह
काठमाडौं, १९ असाेज । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार पनि घटेर बन्द भएको नेप्सेले सोमबार पनि सोही क्रम निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन टप गेनर्समा अधिकांश ऋणपत्रको बोलबाला रह्यो। १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको छ भने नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशतले बढेको छ। घाटातर्फ त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो (रु. २२ करोड ८६ लाख) शीर्षमा रह्यो भने हाथवे इन्भेष्टमेन्ट (रु. ८ करोड ४९ लाख) र शिवम सिमेन्ट्स (रु. ८ करोड ४३ लाख) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
१३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।
