मनकामना केबलकार मङ्गलबार बन्द रहने
नारायणगढ (चितवन), १९ असोज । चितवनको कुरिनटारबाट गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिनका लागि बन्द हुने भएको छ।
आगामी चाडपर्वलाई लक्षित गरी नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि स्थगित गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।
प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारका टावर तथा स्टेसनहरूको प्राविधिक जाँच र नियमित मर्मतका लागि सेवा बन्द गर्न लागिएको हो। “टावरको मर्मत, निरीक्षणका साथै दुवै स्टेसनको प्राविधिक अवस्था जाँचका लागि भोलि एक दिन सेवा बन्द गर्न लागिएको हो,” शेरचनले भन्नुभयो।
मङ्गलबार मर्मतसम्भार पूरा गरी पर्सि (बुधबार) देखि केबलकार सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सामाजिक सञ्जालमार्फत पनि यसबारे सर्वसाधारणलाई जानकारी गराइएको छ। एक दिन सेवा अवरुद्ध हुँदा यात्रु तथा भक्तजनहरूमा पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमाप्रार्थी रहेको जनाएको छ।
