पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर
बन्दीपुर गाउँपालिकाबाट भौतिक पूर्वाधार विकासलाई प्राथमिकता
काठमाडौँ, असोज १९ । तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पछिल्लो एक वर्षमा सात दशमलव दुई किलोमिटर सडक कालोपत्र, १० किलोमिटर सडक ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ ।
गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार पछिल्लो एक वर्षमा चार वटा पार्क, सात किलोमिटर ढल, एक किलोमिटर नदी नियन्त्रण, छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार तथा तीन वटा पोखरी निर्माण भएका छन् । यस अवधिमा एउटा नयाँ विद्यालय भवन र चार वटा प्रतीक्षालय निर्माण गरिएको छ भने सामुदायिक पूर्वाधारअन्तर्गत चार वटा सामुदायिक वन सम्बन्धी काम भएका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्म बन्दीपुर गाउँपालिकामा ३७ दशमलव दुई किलोमिटर सडक कालोपत्र भएको छ । त्यस्तै, ७० किलोमिटर सडक ग्रावेल र ७९ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले नयाँ ट्रयाक खोल्ने, पुराना सडक स्तरोन्नति गर्ने र आवश्यकता तथा प्राथमिकताका आधारमा सडक कालोपत्र गर्ने कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
सडक सञ्जाल विस्तारसँगै यातायात आवागमन सहज बनाउन गाउँपालिकाले पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ । हालसम्म २५ वटा मोटरेबल पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । पुल निर्माणपछि सडक सञ्जाल पुगेका क्षेत्रमा खोलानाला तथा नदीका कारण हुने आवागमनको समस्या न्यूनीकरण भएको गाउँपालिकाको भनाइ छ ।
पूर्वाधार विकाससँगै सार्वजनिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यीकरणलाई समेत गाउँपालिकाले प्राथमिकता दिएको छ । हालसम्म ४९ वटा पार्क निर्माण भएका छन् भने वर्षाको पानी तथा घरबाट निस्कने फोहोर पानी व्यवस्थापनका लागि ७८ किलोमिटर ढल निर्माण गरिएको छ । बाढी तथा नदी कटानको जोखिम न्यूनीकरणका लागि पाँच किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले सिँचाइ पूर्वाधारमा समेत लगानी गरेको छ । हालसम्म एक हजार ८६२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । सिँचाइको पहुँच विस्तार भएपछि कृषियोग्य जमिनलाई वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्न सहयोग पुगेको गाउँपालिकाको अपेक्षा छ । पछिल्लो एक वर्षमा मात्रै थप छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
जलस्रोत संरक्षण तथा स्थानीय पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाले हालसम्म छ वटा ताल निर्माण तथा संरक्षणसम्बन्धी काम गरेको छ । पछिल्लो एक वर्षमा तीन वटा पोखरी निर्माण गरिएको छ । फोहर व्यवस्थापनका लागि एउटा डम्पिङ साइट र एउटा स्यानिटरी ल्याण्डफिल्ड निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । बढ्दो बस्ती तथा पर्यटकीय गतिविधिसँगै उत्पादन हुने फोहरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न ती संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।
गाउँपालिकाले सडक तथा भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यका आधारभूत संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ । जनप्रतिनिधि आएपछि हालसम्म छ वटा विद्यालय भवन र सात वटा स्वास्थ्य चौकी निर्माण भएका छन् । त्यस्तै, विभिन्न स्थानमा ५४ वटा प्रतीक्षालय तथा स्थानीय समुदायका कार्यक्रम र सामाजिक गतिविधिका लागि ७४ वटा सामुदायिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष थापाले उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्दै पूर्वाधार निर्माणलाई विकासको आधारका रूपमा अघि बढाइएको बताउनुभयो । सडक, पुल, सिँचाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संरचनाको विकासले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउने उहाँको भनाइ छ ।
पर्यटकीय क्षेत्रका रूपमा परिचित बन्दीपुरमा सडक, पार्क, प्रतीक्षालयलगायत पूर्वाधार निर्माणले पर्यटन गतिविधिलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
