भिरबाट खसेर एक कामदारको मृत्यु
काठमाडौँ, असोज १९ । लमजुङको मर्स्याङ्दी गाउँपालिक ६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका ८ का ३७ वर्षीय राजकुमार चौधरी रहेका छन् । चौधरी आयोजनाको काममा खटिएका बेला कार्यस्थल नजिकैको भिरबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते हुनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घटनालगत्तै उद्धार गरी चौधरीलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । उपचारका क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार चौधरीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ । पोस्टमार्टमपछि शव परिवारलाई बुझाउने तयारी भइरहेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
