बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा
किसानले उत्पादन बजारसम्म पुर्याउन सकेका छैनन्
काठमाडौँ, असोज १९ । बाढी, पहिरो र नदी कटानका कारण बेनी जोमसोम सडक एक सातादेखि अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि बजार पठाउन नसकिएका स्याउ बोटमै पाकेर झर्न र कुहिन थालेका छन् ।
मुस्ताङका पाँचवटै स्थानीय तहमा स्याउ टिप्ने र बजार पठाउने क्रम चलिरहेका बेला सडक अवरुद्ध भएपछि किसानले उत्पादन बजारसम्म पुर्याउन सकेका छैनन् । हाल ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी रहेको किसानले बताएका छन् ।
स्याउ ढुवानीमा समस्या भएपछि पाँचवटै स्थानीय तहका किसान तथा व्यापारीको समूहले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । करिब तीन दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासमक्ष सडक अवरोधका कारण स्याउ ढुवानीमा परेको समस्या र त्यसबाट किसानले व्यहोर्नुपर्ने सम्भावित क्षतिबारे जानकारी गराएका हुन् ।
थासाङ गाउँपालिका १ टुकुचेका आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले दसैँअघि स्याउ बिक्री हुने मुख्य समयमा सडक अवरुद्ध हुँदा किसानको वर्षभरिको मेहनत खेर जाने अवस्था आएको बताउनुभयो । स्याउ टिपेपछि बजारसम्म पुर्याउने बाटो नभएको र नटिप्दा बोटमै नोक्सान हुने अवस्था रहेको उहाँको भनाइ छ । सडक चाँडै सञ्चालनमा आए किसानलाई केही राहत हुने उहाँले बताउनुभयो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ तिरीका किसान कान्छा गुरुङका अनुसार तीजअघि केही स्याउ बजार पठाइए पनि ठूलो परिमाणमा स्याउ अझै बगैँचामै छ । सडक खुलेपछि एकैपटक ठूलो परिमाणमा स्याउ बजार पुग्दा मूल्य घट्न सक्ने जोखिमसमेत रहेको उहाँले बताउनुभयो ।
घरपझोङ गाउँपालिका ५ ढुम्बाका किसान योन्तेन गुरुङले बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउन आयोजनाले तीव्र गतिमा काम गर्नुपर्ने बताउनुभयो । सडक अवरोधका कारण पर्यटनसँगै कृषि क्षेत्रसमेत प्रभावित भएकाले स्याउ किसानलाई थप क्षति हुन नदिन राज्यका सबै संयन्त्र परिचालन गरी सडक खुलाउनुपर्ने उहाँको माग छ ।
विद्युत् प्रसारणसम्बन्धी समस्या र सडक अवरोधका कारण टिपेर राखिएका पाँच ट्रक स्याउसमेत बजार पठाउन नसकिएको उहाँले जानकारी दिनुभयो । लामो समयसम्म भण्डारण गर्नुपर्दा ती स्याउ कुहिएर नोक्सान हुने जोखिम रहेको उहाँको भनाइ छ ।
वारागुङ मुक्तिक्षेत्र ४ तिरीका किसान नर्वु गुरुङले सडक सञ्चालन नहुँदा परम्परागत जातका स्याउ बोटमै पाकेर झर्न थालेको बताउनुभयो । बगैँचाबाट झरेका स्याउको तस्बिर प्रमुख जिल्ला अधिकारी शर्मालाई देखाउँदै उहाँले किसानको समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।
किसानका गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी शर्माले प्राकृतिक विपत्तिका कारण भएको क्षति तत्काल रोक्न नसकिए पनि सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो । सडक सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उहाँले चाँडै सडक खुल्ने बताउनुभयो ।
बेनी-जोमसोम-कोरला सडक आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दी खण्डमा अपेक्षाभन्दा बढी क्षति भएकाले सडक सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । मालढुङ्गादेखि कोरलासम्म अधिकांश स्थानमा सडक मर्मत भइसकेको र म्याग्दीको सिरुबारी, बैसरी, पनौटो तथा पोखरेबगरमा पुलका पहुँचमार्ग मर्मतको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
आयोजनाका अनुसार म्याग्दी खण्डमा १३ किलोमिटर सडक मर्मतको काम तीव्र गतिमा भइरहेको छ । बाँकी काम पूरा गरी सडक सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने आयोजना प्रमुख शर्माले बताउनुभयो ।
