अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइनको काम तीव्र : इआइए अन्तिम चरणमा
अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन परियोजना
काठमाडौँ, असोज २० । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका १ लोथरमा जग्गा सम्याउने (ल्याण्ड फिलिङ) तथा बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका आयोजना प्रमुख एवं निर्देशक प्रदीपकुमार यादवका अनुसार लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण हुनेछ । परियोजनाका लागि पाइपलाइनको नक्साङ्कन सम्पन्न भइसकेको र पूर्वपश्चिम राजमार्गको समानान्तर हुने गरी पाइपलाइन बिछ्याउने तयारी गरिएको छ ।
भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतिहारी डिपोस्थित पम्प हाउसबाट पेट्रोलियम पदार्थ लोथरसम्म पठाउने गरी करिब ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ । हेटौँडा बजार क्षेत्रमा बाइपास हुने गरी यसको डिजाइन तयार गरिएको निगमले जनाएको छ ।
“अमलेखगन्जबाट आउँदा रातोमाटेभन्दा अगाडि नदीको बीचबाट पाइपलाइन जानेछ र हेटौँडा बजार कटेपछि राप्ती पुल नजिकै निस्कनेछ । हेटौँडा बजारभित्र पाइपलाइन जाने छैन,” आयोजना प्रमुख यादवले भन्नुभयो । परियोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको र अबको तीन वर्षभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
निगमका उपप्रबन्धक ऋषिराम शर्माका अनुसार अहिले निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने तथा मुख्य संरचना निर्माणका लागि आवश्यक पूर्वतयारी भइरहेको छ । जग्गा तयार भएपछि भण्डारणसहितका संरचना निर्माणको जिम्मा आइओसीलाई दिइनेछ ।
ल्याण्ड फिलिङ तथा बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले करिब रु ७९ करोडमा पाएको छ । गत भदौदेखि काम सुरु गरेको कम्पनीले ठेक्का अवधि एक वर्ष भए पनि आठदेखि नौ महिनामै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको जनाएको छ ।
परियोजनाअन्तर्गत लोथरमा पेट्रोलियम पदार्थ भण्डारणसहितको सुविधा सम्पन्न डिपो निर्माण हुनेछ । पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई वटा र हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण गरिनेछ । नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ ।
पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटरका दरले पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने निगमले जनाएको छ । कुल ६२ किलोमिटर लामो पाइपलाइनमा नियमितरूपमा करिब तीन हजार २०० किलोलिटर इन्धन प्रवाहमा रहनेछ । परियोजनाबाट वार्षिक २० मिलियन टनसम्म इन्धन ढुवानी गर्न सकिने बताइएको छ ।
लोथरमा हवाई इन्धन भण्डारणको व्यवस्था भएपछि भारतको बरौनीबाट ट्याङ्करमार्फत हुँदै आएको हवाई इन्धनको ढुवानीसमेत पाइपलाइनबाट गर्न सकिनेछ । हाल करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याउनुपर्ने अवस्था रहेकामा पाइपलाइन सञ्चालनमा आएपछि प्रतिलिटर करिब रु पाँच ढुवानी खर्च बचत हुने र वार्षिक करिब रु दुई अर्ब बराबरको ढुवानी खर्च जोगिने निगमको अनुमान छ ।
पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव कम हुने, चोरी तथा मिसावटको सम्भावना घट्ने निगमको भनाइ छ । पाइपलाइन तथा भण्डारण गृह निर्माणसहित परियोजनाको अनुमानित लागत रु १४ अर्ब नौ करोड ६० लाख रहेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को २०८० जेठमा भएको भारत भ्रमणका क्रममा अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माण गर्ने समझदारी भएको थियो । सोही समझदारीअनुसार २०८१ असोज १७ गते नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो । सम्झौतामा निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने उल्लेख छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ दशमलव दुई किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि सञ्चालनमा आएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको उक्त पाइपलाइनबाट सुरुमा डिजेल आयात हुँदै आएकोमा २०८१ असोज २४ देखि पेट्रोल र मङ्सिर १९ देखि मट्टितेलसमेत आयात गर्न थालिएको हो ।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रूपमा रहेको उक्त परियोजनाको भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर भाग रहेको छ । बहुउत्पादन (मल्टी प्रोडक्ट) पाइपलाइनबाट आयात हुने पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग धान्दै आएको निगमले जनाएको छ ।
अमलेखगन्जबाट हाल काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज र जनकपुरलगायतका डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्ज–लोथर पाइपलाइन तथा डिपो निर्माण सम्पन्न भएपछि मुलुकका पश्चिमी तथा उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ ।
