सुन्तलामा रोगको प्रकोप बढेपछि भोजपुरका किसान चिन्तित
सुन्तलाको बगानमा रोगको प्रकोप
भोजपुर, २० असोजः सुन्तलाको बगानमा फल झर्ने, हाँगा सुक्ने तथा विभिन्न रोगको प्रकोप बढेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । फल परिपक्व नहुँदै भेट्नो कुहिएर झर्न थालेपछि वर्षभरको मेहनत र लगानी खेर जाने भन्दै व्यावसायिक सुन्तला किसान पिरोलिएका हुन् ।
भोजपुर नगरपालिका ३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार पछिल्लो समय सुन्तलाका दाना पहेँलिँदै आफैँ भुइँमा झर्ने समस्या देखिएको छ । फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएका सुन्तलामा अहिले फल झर्ने समस्या देखिन थालेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बगानमा फल झर्नुका साथै हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने तथा बोट नै पहेँलो हुने समस्या देखिएको छ । करिब ४२ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएका प्रधानले रोगको प्रकोपका कारण व्यावसायिक किसानलाई ठूलो असर परेको बताउनुभयो ।
“पछिल्लो समय अनौठो रोग देखिन थालेको छ । यो वर्ष फल पहेँलो भएर झर्ने समस्या झन् बढेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार रोग नियन्त्रण हुन नसके उत्पादनमा ठूलो गिरावट आउने र किसानको लगानीसमेत जोखिममा पर्ने अवस्था छ ।
टेम्केमैयुङ गाउँपालिका ५ खावा केराबारीका किसान देवराज राईले पनि विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, पातमा ढुसी लाग्ने र पात बेरिने समस्या दोहोरिँदै आएको बताउनुभयो । करिब १५ रोपनीमा सुन्तलाखेती गर्दै वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएका राईले रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका ६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्ने समस्या देखिएको बताउनुभयो । समयमै रोगको पहिचान गरी नियन्त्रणका उपाय अवलम्बन गर्न नसके बगान नै नष्ट हुने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
सुन्तलामा विभिन्न रोगको प्रकोप बढ्दै गएपछि किसानले कृषि प्राविधिक तथा सम्बन्धित निकायसँग तत्काल बगानको निरीक्षण गरी रोगको पहिचान र उपचारको व्यवस्था गर्न माग गरेका छन् । किसानले रोग नियन्त्रणका लागि आवश्यक प्राविधिक परामर्श, औषधि तथा उपचार विधिबारे जानकारी उपलब्ध गराउनसमेत आग्रह गरेका छन् ।
