अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास खुल्यो
अन्नपूर्ण चक्रीय पदमार्ग
मुस्ताङ, २० असोजः भारी हिमपातका कारण अवरुद्ध अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गतको थोरङला पासमा जमेको हिउँ पन्छ्याएपछि पदयात्राका लागि बाटो खुलेको छ।
मनाङ – मुस्ताङ जोड्ने थोरङला पासमा मुक्तिनाथ होटल एसोसिएसनको पहलमा २० जनाको टोलीले हिउँ पन्छ्याएपछि पदमार्ग पुनः सञ्चालनमा आएको हो । असोज ८ देखि ११ गतेसम्म भएको भारी हिमपातका कारण पदमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि पर्यटकको आवागमन रोकिएको थियो ।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बाक्लो हिउँ पन्छ्याएर पदयात्राका लागि बाटो सहज बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले मनाङबाट थोरङला पास हुँदै मुस्ताङको मुक्तिनाथसम्म पदयात्रा गर्न कुनै समस्या छैन ।
लमजुङको बेँसीसहर हुँदै मनाङबाट थोरङला पास पार गरेर विदेशी पर्यटक मुक्तिनाथ आउने गर्छन्। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको महत्वपूर्ण खण्डका रूपमा रहेको थोरङला पास साहसिक पदयात्राका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
अक्टोबरदेखि नोभेम्बरसम्म थोरङला पासमा साहसिक पदयात्राका लागि अनुकूल मौसम हुने भएकाले यस समयमा विदेशी पर्यटकको चाप बढ्ने गर्छ। अन्नपूर्ण चक्रीय पदमार्गमा मनाङ – मुस्ताङ खण्डमा वर्षमा करिब पाँच महिना मात्रै नियमित पर्यटकीय गतिविधि हुने गरेको एसोसिएसनले जनाएको छ ।
पदमार्ग खुलेसँगै आगामी पर्यटकीय मौसममा मनाङ हुँदै मुस्ताङ आउने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।
