कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरु
सात हजार ११४ प्रतिनिधि
काठमाडौँ, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा दर्ता प्रक्रिया सुरु गरेको निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार पारित संशोधित विधानअनुसार पार्टीका पदाधिकारीको सङ्ख्या १४ बाट बढाएर २६ पुर्याइएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थप गरिएको छ। यससँगै उपसभापतिको सङ्ख्या चार पुगेको छ। त्यस्तै महामन्त्रीको सङ्ख्या तीन पुर्याइएको छ भने एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
संशोधित विधानमा दुई खुला सहमहामन्त्रीको पद थप गरिएको छ। यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । पार्टीले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको सङ्ख्या थप गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
