असोज २३ गते देखि खुल्दै दसैँको अग्रिम टिकट बुकिङ

काठमाडौँ, २० असोज । यसपटकको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला र विभागका महानिर्देशक राजीव पोखरेलसहितका पदाधिकारी बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ देखि टिकट बुकिङ खुला गरिने जानकारी दिए। उनले दसैँका लागि आवश्यक यातायात व्यवस्थापनको तयारी भइरहेको सञ्चारकर्मीलाई जानकारी गराए।

दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन र यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको पोखरेलले बताए।

दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *