दसैं मनाउन गाउँ फर्किने बढे, तीन लाखभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं, २३ असाेज । दसैं मनाउन काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या बढ्न थालेको छ। सरकारले दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुला गरेसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका नागरिक घर फर्किन थालेका हुन्।

यातायात व्यवसायीका अनुसार हालसम्म तीन लाखभन्दा बढी मानिस दसैं मनाउन काठमाडौं छाडिसकेका छन्। दसैं नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप थप बढ्दै गएको व्यवसायीहरूले बताएका छन्।

काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न बसपार्कबाट गाउँ फर्किने यात्रुको संख्या बढेको छ। बसपार्कहरूमा टिकट काट्ने र बस चढेर गन्तव्यतर्फ जाने यात्रुको चहलपहल देखिन थालेको छ।

दसैं मनाउन घर फर्किने क्रम बढेसँगै आगामी दिनमा सार्वजनिक यातायातमा यात्रुको चाप अझै बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *