बूढीगण्डकी बाढीः छ वटा पुल बग्याे, कम्तीमा १० जना सम्पर्कविहीन

गोरखा, २५ असोज । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखामा दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे गरी छ वटा पुल बगाएको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बाढीले छ वटा पुल बगाएको जानकारी दिनुभयो। उहाँका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलीब्रिज पनि बगाएको छ।

बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरमा रहेका करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो । सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *