लुम्बिनी लायन्ससँग पोखरा एभेन्जर्स ८ विकेटले पराजित

काठमाडौँ, १७ कात्तिक ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। यससँगै पोखराले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ।

पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीले ५० बल बाँकी छँदै सहज जित निकालेको हो।

लुम्बिनीका कप्तान रोहित पौडेलले अविजित ४७ रनको उत्कृष्ट पारी खेले। यस्तै, निरोशन डिकवेला २७ रनमा अविजित रहे। बलिङतर्फ पोखराका विपिन खत्रीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो।

पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पोखराको ब्याटिङ धराशायी बनाउने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले सर्वाधिक तीन विकेट लिए। तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले समान एक–एक विकेट लिए।

यस जितसँगै लुम्बिनीले तीन खेलबाट दुई जित र एक अनिर्णीत खेलसहित पाँच अंक जोडेको छ। पाँच अंकसहित लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।

यता, प्रतियोगितामा खराब सुरुवात गरेको पोखरा भने तीनवटै खेलमा पराजित भएको छ। लगातार तेस्रो हारसँगै पोखरा अंकतालिकाको पुछारमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *