उपलब्ध पूर्वाधारको उपयोग गर्दै राष्ट्रिय सभा गृहलाई समृद्ध कार्यक्रमस्थल बनाउँदै लैजान्छौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ फिल्म फेस्टिभल

काठमाडौँ, कार्तिक १७, । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उपलब्ध पूर्वाधारको अधिकतम उपयोग गर्दै राष्ट्रिय सभा गृहमै कार्यक्रम आयोजना गरेर त्यसका सबल र सुधार गर्नुपर्ने पक्ष पहिचान गरिएको बताउनुभएको छ । आफ्नै कार्यक्रमस्थललाई व्यवस्थित र समृद्ध बनाउँदै लैजाने उद्देश्यले काठमाडौँ फिल्म फेस्टिभलका अधिकांश कार्यक्रम राष्ट्रिय सभा गृहमा केन्द्रित गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

‘हामीले एकैपटक पूर्णता खोज्न थाल्यौँ भने यात्रा सुरु नै गर्न सकिँदैन । त्यसैले महानगरपालिकासँग उपलब्ध स्थानको अधिकतम उपयोग गर्ने उद्देश्यले सभा गृह केन्द्रित कार्यक्रम गरेका हौँ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा गृह नगरवासीको कार्यक्रमस्थल हो । आफ्नै ठाउँमा कार्यक्रम आयोजना गरेर यसमा रहेका त्रुटि पहिचान गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित र समृद्ध कार्यक्रमस्थलका रूपमा विकास गर्न खोजेका हौँ ।’

तीन दिनसम्म सञ्चालन भएको काठमाडौँ फिल्म फेस्टिभलमा सर्ट भिडियो, वृत्तचित्र र लघु चलचित्र गरी ३८ वटा चलचित्र प्रदर्शन गरिएकामा २९ वटाको प्रदर्शन राष्ट्रिय सभा गृहमा गरिएको थियो । सर्ट भिडियो च्यालेञ्ज र नेपाल पानोरामाबाट छनोट भएका चलचित्र, पुराना नेपाली चलचित्र तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्न आयोजित रेड कार्पेट कार्यक्रम पनि सभा गृहमै सम्पन्न भएका थिए ।

नेपाली चलचित्रको इतिहास नयाँ पुस्तालाई परिचित गराउने र चलचित्र क्षेत्रको ज्ञान तथा अनुभव पुस्तान्तरण गर्ने उद्देश्यले ‘के घर के डेरा’ र ‘कुमारी’ चलचित्रको विशेष प्रदर्शन गरिएको थियो । यसैगरी, सर्ट भिडियो च्यालेञ्जको पुरस्कार वितरण तथा नेपाल पानोरामाबाट छनोट भएका लघु चलचित्रलाई प्रोत्साहन पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि सभा गृहमै आयोजना गरिएको थियो ।

फेस्टिभलमा जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले प्रस्तुत गर्नुभएका ‘यामागाता युनेस्को फिल्म सिटी सर्टस्’ अन्तर्गतका पाँच चलचित्र पनि राष्ट्रिय सभा गृहमा प्रदर्शन गरिएका थिए । प्रदर्शनका क्रममा निर्देशक नाकामुराले चलचित्रका विषयवस्तु तथा तिनको सामाजिक र सहरी पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय सभा गृहमा चलचित्र प्रदर्शन गर्दा प्राविधिक गुणस्तर कस्तो रह्यो भन्ने प्रश्नमा कार्यवाहक प्रमुख डंगोलले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । ‘हामीले जति सोचेका थियौँ, त्योभन्दा राम्रो प्रतिक्रिया पाएका छौँ । असन्तुष्ट हुनुपर्ने अवस्था आएन । आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष हामी आफैँले पनि पहिचान गरेका छौँ’, उहाँले भन्नुभयो ।

राष्ट्रिय सभा गृह र जय नेपाल सिनेमा घरका अतिरिक्त फेस्टिभलका विभिन्न कार्यक्रम नेपाल पर्यटन बोर्डमा पनि आयोजना गरिएका थिए । बोर्डमा सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले ‘द इम्पोर्टेन्स अफ फिल्म एस्थेटिक्स फ्रम द ग्लोबल साउथ एन्ड द इन्टरनेसनल फेस्टिभल सर्किट’ विषयमा मास्टर क्लास सञ्चालन गर्नुभएको थियो ।

यसैगरी, ‘फिल्म्स, फेस्टिभल्स एन्ड अ लाइफ वेल लाइभ्ड’ विषयक अन्तरसंवादमा भारतीय चलचित्र अभिनेत्री शबाना आजमी र नेपाली अभिनेत्री स्वस्तिमा खड्काले अभिनय यात्रा, व्यक्तिगत तथा पारिवारिक जीवन र व्यावसायिक अनुभव आदानप्रदान गर्नुभएको थियो ।

फेस्टिभलमा ‘नर्चरिङ क्रिएटिभ सिटिज थ्रु फिल्म एन्ड फेस्टिभल्स’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । छलफलमा चलचित्र र महोत्सवमार्फत सिर्जनात्मक सहरको पहिचान, प्रवर्द्धन तथा स्थानीय सिर्जनात्मक उद्योगको विकासका सम्भावनाबारे विमर्श गरिएको थियो ।

कात्तिक १३ गते वसन्तपुरस्थित विश्व सम्पदा क्षेत्रबाट सम्पदा पदयात्रा र औपचारिक समारोहसहित सुरु भएको फेस्टिभल कात्तिक १५ गते बौद्धबाट तारागाउँसम्मको पदयात्रापछि त्यहाँस्थित एम्पीथिएटरमा आयोजित समारोहका साथ समापन गरिएको थियो । फेस्टिभलले नेपाली चलचित्रको मौलिक कथा, नयाँ पुस्ताका सिर्जनाकर्मीको क्षमता र अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सहकार्य विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *