दक्षिण कोरियाले होर्मुज जलडमरूमध्य नजिक नौसैनिक गस्ती विस्तार गर्ने

अमेरिकी दबाबपछि छोङ्हे युनिटको कार्यक्षेत्र बढाउने तयारी, इरानसँगको युद्धमा संलग्न हुन सक्ने जोखिमबारे विपक्षीको चिन्ता

काठमाडौं । दक्षिण कोरियाले आफ्नो नौसैनिक एन्टी-पाइरेसी अभियानको कार्यक्षेत्र होर्मुज जलडमरूमध्य नजिकसम्म विस्तार गर्ने तयारी गरेको छ। इरानविरुद्धको युद्धमा सहयोग गर्न अमेरिकाले दबाब बढाएपछि सोलले सोमालियाको तटीय क्षेत्रमा सञ्चालन गर्दै आएको नौसैनिक गस्ती विस्तार गर्ने योजना अघि सारेको हो।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बिहीबार रोयटर्सलाई दिएको जानकारीअनुसार सन् २०२६ को अन्त्यमा कार्यकाल सकिन लागेको नौसेनाको ‘छोङ्हे’  युनिटको कार्यक्षेत्र विस्तारका लागि सरकारले संसद्मा प्रस्ताव लैजाने तयारी गरेको छ।

योनहाप समाचार एजेन्सीका अनुसार प्रस्ताव आगामी साता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसद्मा प्रस्तुत गरिनेछ। प्रस्ताव पारित भएमा युनिटको सञ्चालन क्षेत्र होर्मुज जलडमरूमध्यबाट करिब ६५० किलोमिटर टाढा रहेको ओमानको दुक्म बन्दरगाह आसपाससम्म विस्तार हुनेछ।

सन् २००९ देखि छोङ्हे युनिटले एडेनको खाडीमा व्यापारिक जहाजलाई समुद्री डाँकाहरूको आक्रमणबाट जोगाउन गस्ती गर्दै आएको छ। पछिल्लो टोली अक्टोबर २ मा दक्षिण कोरियाको बुसानबाट ४ हजार ४०० टन क्षमताको ‘छोङ्मुगोङ ली सुन-सिन’ नामक ध्वंसकारी युद्धपोतमा प्रस्थान गरेको थियो। उक्त टोलीमा समुद्री हेलिकप्टरसहित करिब ३०० सैनिक छन्।

नयाँ योजनाअनुसार युनिटले ओमानको दक्षिणमा रहेको अरब सागरमा आफ्नो उपस्थिति विस्तार गर्नेछ। यसबाट यसको सञ्चालन क्षेत्र करिब दोब्बर भई १ हजार ९३० किलोमिटर अर्थात् १ हजार २०० माइलसम्म पुग्ने अधिकारीहरूले बताएका छन्।

अभियानमा थप ७५ सैनिक, बम निष्क्रिय पार्ने विशेष टोली र समुद्री क्षेत्रको निगरानीका लागि पी–८ए (P-8A) समुद्री गस्ती विमानसमेत परिचालन गरिनेछ।

गैरसैनिक अभियान भएको दक्षिण कोरियाको दाबी

दक्षिण कोरियाली अधिकारीहरूले प्रस्तावित अभियान पूर्णतः गैरसैनिक प्रकृतिको हुने र अन्य मित्रराष्ट्रका सेनासँग संयुक्त रूपमा नभई दक्षिण कोरियाली कमान्डअन्तर्गत सञ्चालन हुने स्पष्ट पारेका छन्।

नाम नखुलाउने सर्तमा एक रक्षा अधिकारीले योनहापलाई भने, “छोङ्हे युनिटको अभियान विस्तार गर्नुको मुख्य उद्देश्य हाम्रा नागरिकको सुरक्षा गर्नु र आर्थिक हितको रक्षा गर्नु हो।”

उनका अनुसार अभियान ओमानको दक्षिणतर्फको खुला समुद्री क्षेत्रमा मात्र सीमित हुनेछ। गस्ती विमानलाई इरानी भूभाग, इरानको प्रादेशिक जलक्षेत्र वा होर्मुज जलडमरूमध्यको भित्री क्षेत्रमा लक्षित गतिविधि तथा निगरानी गर्न प्रतिबन्ध लगाइनेछ।

अमेरिकी दबाबपछि अघि बढ्यो प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि दबाब बढाएपछि यो प्रस्ताव अघि आएको हो।

दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले गत अप्रिलमा बेलायत र फ्रान्सको नेतृत्वमा भएको वार्ताका क्रममा समुद्री जहाजको सुरक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर, गत सेप्टेम्बरमा उनले दक्षिण कोरियालाई युद्धमा तान्न सक्ने कुनै पनि सैन्य परिचालनबाट टाढा रहने बताएका थिए।

यद्यपि, छोङ्हे युनिटको कार्यक्षेत्र विस्तार गर्ने सरकारी योजनाप्रति विपक्षी सांसदहरूले विरोध जनाएका छन्।

साना वामपन्थी दल रिबिल्डिङ कोरियाका संसदीय दलका नेता किम जुन–ह्याङले बुधबार सोलस्थित संसद्मा आयोजित पत्रकार सम्मेलनमा कार्यक्षेत्र विस्तारलाई सैनिक परिचालनकै रूपमा व्याख्या गरे।

“छोङ्हे युनिटको कार्यक्षेत्र विस्तार गर्नु भनेको सेना परिचालन गर्नु सरह हो,” उनले भने, “यो कुनै चलाख समाधान होइन, बरु भ्रमपूर्ण चलाखी मात्र हो।”

दक्षिण कोरियाले आफ्ना सैनिक युद्धमा सहभागी नहुने दाबी गरे पनि यस्तो कदमले कोरियाली सेनालाई इरानको प्रतिशोधको जोखिममा पार्न सक्ने चेतावनी उनले दिए।

“यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरिया विश्वमै पहिलोपटक सेना पठाउने देश बनेको दाबी गरे भने हामी मध्यपूर्वको युद्धमा सामेल हुने पहिलो देश बन्नेछौँ,” किमले भने।

छोङ्हे युनिटको पृष्ठभूमि

दक्षिण कोरियाली नौसेनाको विशेष समुद्री कार्यदल छोङ्हे युनिट सन् २००९ मार्चमा स्थापना गरिएको हो। सोमालियाको तटीय क्षेत्र र एडेनको खाडीमा समुद्री डकैती नियन्त्रण तथा व्यापारिक जहाजको सुरक्षा गर्नु यसको प्रमुख उद्देश्य हो।

यसको नाम नवौँ शताब्दीका कोरियाली समुद्री कमान्डर जाङ बो–गोले स्थापना गरेको ऐतिहासिक सैन्य केन्द्र ‘छोङ्हेजिन’बाट राखिएको हो।

युनिटमा सामान्यतः केडीएक्स–२ श्रेणीको ध्वंसकारी युद्धपोत, समुद्री गस्ती विमान, विशेष कमान्डो टोली र करिब ३०० सैनिक रहने गर्छन्।

सन् २०११ मा सोमाली समुद्री डाँकाहरूले कब्जामा लिएको दक्षिण कोरियाली तेल ट्याङ्कर ‘सामहो ज्वेलरी’लाई मुक्त गराउँदै युनिटले २१ जना चालक दलका सदस्यको सफल उद्धार गरेको थियो। उक्त अभियानले अन्तर्राष्ट्रिय स्तरमा यसको प्रतिष्ठा बढाएको थियो।

होर्मुज जलडमरूमध्य किन महत्त्वपूर्ण ?

होर्मुज जलडमरूमध्य फारसको खाडी र ओमानको खाडीलाई जोड्ने विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। विश्वको समुद्री मार्गबाट हुने तेल आपूर्तिको करिब पाँचौँ हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ। साथै, तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्तिका लागि पनि यो मार्ग अत्यन्त महत्त्वपूर्ण छ।

साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कतार र इरानजस्ता प्रमुख ऊर्जा उत्पादक राष्ट्रहरूले आफ्नो तेल तथा ग्यास अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन यही मार्ग प्रयोग गर्छन्।

दक्षिण कोरिया, जापान, चीन र भारतजस्ता एसियाली मुलुकहरू मध्यपूर्वबाट हुने ऊर्जा आयातमा निर्भर छन्। त्यसैले होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न भए विश्वव्यापी ऊर्जा आपूर्ति, तेलको मूल्य र अर्थतन्त्रमा गम्भीर असर पर्ने जोखिम रहन्छ।

यस जलमार्गको उत्तरी भागमा इरानको भौगोलिक पहुँच रहेकाले अमेरिका र इरानबीचको तनावमा यसको रणनीतिक महत्त्व झन् बढ्ने गरेको छ।

विश्लेषकहरूका दृष्टिमा, दक्षिण कोरियाको पछिल्लो कदम ऊर्जा सुरक्षा र व्यापारिक जहाजको संरक्षणसँग जोडिएको भए पनि यसले अमेरिका–इरान द्वन्द्वमा सोलको भूमिकालाई थप संवेदनशील बनाउने देखिन्छ। गैरसैनिक अभियानको दाबी र वास्तविक सैन्य जोखिमबीचको अन्तरले दक्षिण कोरियाली सरकारलाई कूटनीतिक तथा रणनीतिक चुनौती थप्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *