चीनका लागि जासुसी गरेको आरोप लागेकी महिलासँग सम्बन्धपछि एनभिडियाका सीईओ ह्वाङमाथि छानबिन
काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङमाथि छानबिन गर्ने भएको छ। चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग ह्वाङको व्यक्तिगत सम्बन्ध रहेको पुष्टि भएपछि कम्पनीको सञ्चालक समितिले छानबिन अघि बढाउने निर्णय गरेको हो।
एनभिडियाले आइतबार जारी गरेको विज्ञप्तिमा स्वतन्त्र सञ्चालकहरूको समितिले बाह्य कानुनी परामर्शदाताको सहयोगमा छानबिन गर्ने जनाएको छ।
कम्पनीको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा एनभिडियाको गोप्य सूचना चुहिएको विश्वास गर्ने कुनै आधार नरहेको जनाएको छ। यद्यपि, घटनासँग सम्बन्धित उपलब्ध सबै सूचनाको अध्ययन गरिने बताइएको छ। छानबिन चलिरहे पनि ह्वाङले एनभिडियाको नेतृत्व गरिरहनेछन्।
यो छानबिन गत महिना द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको एक रिपोर्टपछि सुरु भएको हो। उक्त रिपोर्टमा चिनियाँ जासुसी योजनाको सम्भावित लक्ष्य ह्वाङ भएको दाबी गरिएको थियो।
रिपोर्टअनुसार ‘एलिस ह्वाङ’ वा ‘ह्वाङ ले’ नामले चिनिने चिनियाँ महिला एनभिडियाका सीईओसँग नजिकको सम्बन्ध स्थापित गरेर कम्पनीको प्रविधिसम्बन्धी संवेदनशील सूचना प्राप्त गर्ने प्रयासमा रहेको आरोप छ। एलिस ह्वाङ एनभिडियासँग ठूलो कारोबार गर्ने मेगास्पिड नामक कम्पनीसँग सम्बन्धित रहेको बताइएको छ।
द न्यूयोर्क टाइम्सका अनुसार मेगास्पिडले एनभिडियाबाट करिब ४ अर्ब ८० करोड डलर बराबरका उपकरण खरिद गरेको थियो। एलिस ह्वाङ र जेन्सेन ह्वाङबीच कुनै पारिवारिक सम्बन्ध भने नरहेको जनाइएको छ।
यस प्रकरणमा वासिङ्टनस्थित चिनियाँ दूतावासले जासुसीसम्बन्धी आरोप अस्वीकार गरेको छ।
ह्वाङ र एलिसबीचको सम्बन्ध सार्वजनिक भएपछि अमेरिकी संसदमा समेत तीव्र प्रतिक्रिया देखिएको छ। दुवै दलका सांसदहरूले चीनमा अमेरिकी उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) चिप पुग्ने विषयमा पहिले नै चिन्ता व्यक्त गर्दै आएका थिए।
डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले एनभिडियाका सीईओ र सञ्चालक समितिले संसदलाई जवाफ दिनुपर्ने बताएकी छन्। उनले चीनमा उन्नत अमेरिकी प्रविधि पुग्न नदिन थप कडा कानुन आवश्यक रहेको बताइन्।
रिपब्लिकन सांसदहरूले पनि ह्वाङलाई नोभेम्बर १८ मा संसदमा उपस्थित भएर सम्बन्धित विषयमा बयान दिन आग्रह गरेका छन्। उनीहरूले यस घटनाबाट अमेरिकी राष्ट्रिय सुरक्षामा कति जोखिम उत्पन्न भयो भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका छन्।
यसैबीच, एनभिडियाका कर्मचारीलाई पठाएको इमेलमा ह्वाङले आफ्नी पत्नीप्रति आफू बेइमान भएको स्वीकार गरेका छन्। उनले आफ्नो व्यवहारबाट पत्नी र छोराछोरीलाई चोट पुगेको भन्दै त्यसको कुनै बहाना नभएको बताएका छन्।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै एनभिडियाको व्यापार र बजार मूल्य पछिल्ला वर्षमा अत्यधिक बढेको छ। कम्पनीले ओपनएआई, एन्थ्रोपिक, मेटा र गुगललगायतका कम्पनीले प्रयोग गर्ने ठूला भाषा मोडलका लागि आवश्यक चिप उत्पादन गर्छ।
अमेरिका र चीनबीच एआईलगायत अत्याधुनिक प्रविधिमा प्रभुत्व कायम गर्ने प्रतिस्पर्धा तीव्र हुँदै गएपछि वासिङ्टनले चीनमा उन्नत चिप निर्यातमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ। अमेरिकी प्रशासनले चीनले त्यस्ता प्रविधिको प्रयोगबाट आफ्नो सैन्य तथा प्राविधिक क्षमता बढाउन सक्ने भन्दै निर्यात नियन्त्रण कडा बनाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि ह्वाङको पछिल्लो समय निकट सहकार्य हुँदै आएको छ। सन् २०२५ मा ट्रम्प प्रशासनले चीनमा बिक्री गरिने निश्चित एनभिडिया चिपबाट हुने आम्दानीको १५ प्रतिशत हिस्सा अमेरिकी सरकारलाई दिने व्यवस्था गरेको थियो।
गत साता अमेरिकी मध्यावधि निर्वाचनपछि रिपब्लिकन पार्टीले अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेपछि एआईसम्बन्धी कम्पनीका शेयरमा गिरावट आएको थियो। त्यस क्रममा एनभिडियाले एकै दिन करिब ४ खर्ब ५० अर्ब डलर बराबरको बजार मूल्य गुमाएको थियो। यद्यपि, शुक्रबार कम्पनीको शेयरमा करिब ४ प्रतिशत सुधार आएको थियो।
चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनमा ह्वाङ पनि सहभागी हुने वा नहुनेबारे पत्रकारले सोध्दा ट्रम्पले निश्चित जवाफ दिएका छैनन्। उनले ह्वाङले कुनै गलत काम गरेको आफूलाई जानकारी नभएको भन्दै उनको बचाउ गरेका छन्।
ट्रम्पले ह्वाङलाई ‘राम्रो व्यक्ति’ भन्दै एनभिडियाको नेतृत्वमा उनले देशका लागि उल्लेखनीय काम गरेको बताएका छन्। ह्वाङको व्यक्तिगत सम्बन्धबारे उठेका प्रश्नमा समेत ट्रम्पले उनलाई सम्मानित व्यक्ति भएको र आफ्नो व्यवहारका लागि सम्भवतः उनको कुनै कारण हुन सक्ने टिप्पणी गरेका छन्।
