ऐतिहासिक उपलब्धिको केही दिनअघि भ्वाएजर–१ मा फेरि समस्या, तथ्यांक पठाउन छाड्यो
काठमाडौं । अन्तरिक्षमा ऐतिहासिक उपलब्धि हासिल गर्ने तयारीमा रहेको नासाको भ्वाएजर–१ अन्तरिक्षयानमा फेरि समस्या देखिएको छ। करिब एक प्रकाश–दिनको दूरी पार गर्न लागेको पाँच दिनअघि भ्वाएजर–१ ले वैज्ञानिक तथा प्राविधिक तथ्यांक पठाउन छाडेको हो।
भ्वाएजर–१ ले अहिले पृथ्वीमा कुनै वैज्ञानिक तथ्यांक पठाएको छैन। यसले निरन्तर रेडियो संकेत अर्थात् ‘क्यारियर सिग्नल’ भने पठाइरहेको छ। सामान्य अवस्थामा उक्त संकेतसँगै अन्तरिक्षयानका उपकरणबाट संकलित वैज्ञानिक तथा प्राविधिक जानकारी पनि पृथ्वीमा पठाइन्छ।
नासाले नोभेम्बर १४ मा समस्या पत्ता लगाएको थियो। त्यसको पाँच दिनपछि भ्वाएजर–१ ले पृथ्वीबाट एक प्रकाश–दिनको दूरी पार गर्ने अपेक्षा गरिएको थियो। एक प्रकाश–दिन भनेको प्रकाशले २४ घण्टामा पार गर्ने दूरी हो, जुन करिब १६ अर्ब माइल अर्थात् २६ अर्ब किलोमिटर बराबर हुन्छ।
क्यारियर सिग्नल र अन्तरिक्षयानको प्रक्षेपण मार्गसम्बन्धी गणनाका आधारमा भ्वाएजर–१ ले उक्त दूरी पार गरिसकेको पुष्टि गर्न इन्जिनियरहरू सफल भएका छन्। तर, ४९ वर्ष पुरानो अन्तरिक्षयानमा देखिएको पछिल्लो समस्याले यसको सञ्चालन क्षमताबारे चिन्ता बढाएको छ।
सन् १९७७ को सेप्टेम्बरमा प्रक्षेपण गरिएको भ्वाएजर–१ आफ्नो निर्धारित पाँच वर्षको मिसनभन्दा १० गुणाभन्दा बढी समयदेखि सञ्चालनमा छ। क्यारियर सिग्नल आइरहनुले यसको नेभिगेसन कम्प्युटरले अन्तरिक्षयानलाई पृथ्वीतर्फ सही दिशामा राखिरहेको तथा एन्टेना र रेडियो प्रसारण प्रणालीले काम गरिरहेको संकेत गर्छ।
तर वैज्ञानिक तथ्यांक नआउनुले उपकरणबाट प्राप्त जानकारी संकलन गर्ने अन्तरिक्षयानभित्रको कम्प्युटरमा समस्या भएको हुनसक्ने नासाको अनुमान छ। भ्वाएजर–१ मा रहेका १० वैज्ञानिक उपकरणमध्ये अहिले दुईवटा मात्र सञ्चालनमा छन्। ऊर्जा बचत गर्न अन्य उपकरण बन्द गरिएका छन्।
समस्या समाधानका लागि भ्वाएजर–१ को टोलीले काम गरिरहेको छ। तर पृथ्वीबाट अत्यधिक टाढा रहेकाले समस्या समाधान गर्न लामो समय लाग्नेछ। पृथ्वीबाट पठाइएको आदेश भ्वाएजर–१ सम्म पुग्न करिब २४ घण्टा लाग्छ भने त्यसको प्रतिक्रिया पृथ्वीमा आइपुग्न थप २४ घण्टा लाग्छ।
तीन वर्षअघि पनि यस्तै समस्या
भ्वाएजर–१ मा अहिले देखिएको समस्या तीन वर्षअघि नोभेम्बर १४, २०२३ मा देखिएको समस्यासँग मिल्दोजुल्दो छ। त्यतिबेला पनि अन्तरिक्षयानले क्यारियर सिग्नल पठाइरहे पनि वैज्ञानिक तथ्यांक पठाउन बन्द गरेको थियो।
त्यसपछि नासाका इन्जिनियरहरूले ‘फ्लाइट डेटा सिस्टम’ (एफडीएस) मा समस्या पहिचान गरेका थिए। एफडीएसले अन्तरिक्षयानबाट प्राप्त वैज्ञानिक तथा प्राविधिक तथ्यांक संकलन र प्याकेज गरी पृथ्वीमा पठाउने काम गर्छ।
एफडीएसको एउटा चिपले काम गर्न छाडेपछि त्यसलाई कोड सञ्चालनबाट हटाइएको थियो। तर त्यसपछि बाँकी चिपमा सम्पूर्ण कोड राख्न पर्याप्त मेमोरी नहुँदा थप समस्या उत्पन्न भएको थियो। इन्जिनियरहरूले कोडलाई विभिन्न भागमा विभाजन गरी क्रमशः सञ्चालन हुने व्यवस्था गरेर समस्या समाधान गरेका थिए।
हालको समस्या पनि एफडीएससँग सम्बन्धित हुनसक्ने अनुमान गरिए पनि नासाले यसको पुष्टि गरिसकेको छैन।
यसअघि अक्टोबरको अन्त्यतिर भ्वाएजर–१ ले दुई दिनसम्म पृथ्वीसँग पूर्ण रूपमा सम्पर्क गुमाएको थियो। त्यसपछि सम्पर्क आफैँ पुनःस्थापित भए पनि पछिल्लो घटनासँग त्यसको कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा नासाले अनुसन्धान गरिरहेको छ।
भ्वाएजर–१ अझै कति समय सञ्चालनमा रहन्छ भन्ने यकिन गर्न कठिन छ। मिसन नियन्त्रणकर्ताहरूले लामो समयदेखि यो अन्तरिक्षयान थप तीनदेखि पाँच वर्ष सञ्चालन हुनसक्ने अनुमान गर्दै आएका छन्। विभिन्न प्राविधिक उपाय अपनाउँदै यसको सञ्चालन अवधि निरन्तर लम्ब्याइएको छ।
भ्वाएजर–१ र यसको जुम्ल्याहा अन्तरिक्षयान भ्वाएजर–२ सन् १९७७ मै प्रक्षेपण गरिएका थिए। दुवैलाई सुरुमा पाँच वर्षसम्म बृहस्पति र शनि ग्रहको अध्ययन गर्ने उद्देश्यले निर्माण गरिएको थियो।
हाल दुवै अन्तरिक्षयान अन्तरतारकीय अन्तरिक्षको अध्ययन गरिरहेका छन्। भ्वाएजर–१ सन् २०१२ मा र भ्वाएजर–२ सन् २०१८ मा सूर्यको चुम्बकीय क्षेत्रबाट बनेको विशाल सुरक्षात्मक क्षेत्र ‘हेलियोस्फियर’ पार गरी अन्तरतारकीय अन्तरिक्षमा प्रवेश गरेका थिए।
