कुवेतले इरानी ड्रोन अवरोध गर्ने क्रममा दुई जनाको मृत्यु भएको जनाएको छ

कुवेत । कुवेतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्नावशेष लागेर दुई जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुने दुवै जना इटालीका नागरिक रहेको कुवेतको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार इरानबाट आएका शत्रुतापूर्ण ड्रोनलाई नियन्त्रण गर्ने क्रममा खसेको भग्नावशेष लागेर उनीहरू घाइते भएका थिए। घटनामा अन्य दुई जना पनि घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनाका बेला इटालीको एक प्रतिनिधिमण्डल सुरक्षा मामिलाबारे छलफल गर्न कुवेत भ्रमणमा रहेको थियो। दुई इटालियन नागरिकको मृत्युले अमेरिका र इरानबीच जारी तनाव कम गर्न तथा संवादको वातावरण बनाउन भइरहेको कूटनीतिक प्रयास थप जटिल बन्न सक्ने देखिएको छ।

पछिल्ला केही सातायता खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका देशहरू इरानी आक्रमणको निशानामा पर्दै आएका छन्। कुवेत र बहराइनमा पटक–पटक आक्रमण भएका छन्। तेहरानले ती देशमा अमेरिकी सैन्य संरचना तथा अन्य सैन्य सम्पत्ति रहेकाले आक्रमण जारी राखेको बताउँदै आएको छ।

जीसीसीले सदस्य राष्ट्रमध्ये कुनै एकमाथि भएको आक्रमण सबै सदस्य राष्ट्रमाथिको आक्रमण हुने बताउँदै आएको छ। साथै, यस्ता आक्रमणलाई सदस्य राष्ट्रको सार्वभौमिकतामाथिको उल्लंघनका रूपमा व्याख्या गरेको छ।

घटनाबारे इरानको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। पछिल्लो घटनाले कुवेतसहित खाडी क्षेत्रका देशहरूमा आक्रोश बढाउनुका साथै अमेरिका र इरानबीच पुनः वार्ता सुरु गराउने कूटनीतिक प्रयासमा थप चुनौती सिर्जना गर्न सक्ने आकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *