डेढ दशकको प्रतीक्षापछि ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा
म्याग्दी, ११ मङ्सिर । निर्माण सुरु भएको करिब डेढ दशकपछि म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाले आवश्यक परीक्षण अवधि पूरा गरी व्यावसायिक रूपमा बिजुली उत्पादन थालेको हो ।
प्रारम्भमा ३२ मेगावाट क्षमतामा निर्माण सुरु गरिएको यो आयोजना ठेकेदारको लापरबाही, ठेक्का रद्द, आयोजनाको पुनर्संरचना, कोभिड–१९ महामारी, बाढीपहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावजस्ता विविध अवरोध पार गर्दै १५ वर्षपछि सम्पन्न भएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार असोज ६ गतेदेखि आयोजनाको परीक्षण उत्पादन सुरु गरिए पनि असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा कटान गर्दा परीक्षण अवधि केही लम्बिएको थियो ।
आयोजनाको संरचना र प्रसारण लाइन रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध निर्माण गरिएको यस आयोजनामा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने (डिसेन्डर) पोखरी छन् । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकछेउ तिल्केनीचौरमा विद्युतगृह निर्माण गरिएको छ ।
आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग र राहुघाट नदीमा एउटा बेलिब्रिज निर्माण गरिएको छ । विद्युतगृह परिसरमा स्वीचयार्ड निर्माण गरी उत्पादित विद्युत्लाई चारवटा टावरमार्फत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ (LILO) प्रणालीबाट जोडिएको छ । भारतीय परामर्शदाता कम्पनी वाप्कोस (WAPCOS) को सुपरीवेक्षणमा निर्मित यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो ।
ठेक्का रद्ददेखि पुनर्संरचनासम्मको यात्रा विद्युत् प्राधिकरणले सुरुमा २०६७ कात्तिक १८ गते भारतीय निर्माण कम्पनी आइभीआरसीएलसँग रु दुई अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार काम भएको भए विसं २०७० मै ३२ मेगावाट बिजुली उत्पादन भइसक्थ्यो । तर, ठेकेदार कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण पाँच वर्षमा भौतिक प्रगति १२ प्रतिशतमा सीमित भएपछि प्राधिकरणले २०७२ सालमा ठेक्का रद्द गर्यो ।
त्यसपछि प्राधिकरणले आयोजनाको क्षमता ३२ बाट बढाएर ४० मेगावाट पुर्याउने निर्णय गर्दै २०७३ सालमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी कम्पनी मोडेलमा काम अघि बढायो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा निर्माण अघि बढाइएको हो ।
नयाँ ठेक्का र निर्माण सम्पन्न नयाँ प्रक्रियाबाट छनोट भएको भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा काम सक्ने गरी २०७४ मङ्सिर ६ गते करिब रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो । २०७५ असारमा पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि सुरुङ खन्न सुरु गरिएकोमा २०८१ साउन १५ गते मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । विभिन्न अवरोधका कारण चौथोपटक म्याद थपिएपछि आयोजनाले पूर्णता पाएको हो । आयोजनाको इलेक्ट्रोमेकानिकल कामका लागि भारत सरकारको स्वामित्वमा रहेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा सम्झौता भएको थियो ।
जिल्लाको जलविद्युत् विकासमा उत्साह म्याग्दी जिल्लामै पहिलो र सरकारी लगानीमा सुरु भएको राहुघाटलाई स्थानीय स्तरमा जलविद्युत् विकासको ‘प्रवेशबिन्दु’ (गेटवे) का रूपमा हेरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटको निर्माण सुरु भएपछि जिल्लामा भित्रिएका अन्य १० वटा आयोजना सम्पन्न भइसकेको उल्लेख गर्दै ढिलै भए पनि राहुघाटले व्यावसायिक उत्पादन थाल्नु जिल्लावासीका लागि उत्साहको विषय भएको बताउनुभयो ।
