पोखरामा प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दैनिक २०० बढी उडान

गण्डकी, १० मङ्सिर । पर्यटकीय सहर पोखराको मौसम अनुकूल बनेसँगै प्याराग्लाइडिङमा रमाउने पर्यटकको चहलपहल बढेको छ । अहिले दैनिक २०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले पोखराको आकाशमा प्याराग्लाइडिङको साहसिक अनुभव लिइरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष माधव तिवारीका अनुसार दसैँ–तिहारको बिदाका बेला प्याराग्लाइडिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो । अहिले उडान गर्नेमा झण्डै ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली रहेका छन् । पोखरा घुम्न आउने पर्यटकमध्ये करिब २० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेको उहाँले बताउनुभयो ।

पोखराको सराङकोट र तोरीपानीबाट उडान गरी फेवाताल किनारको खपौदीमा अवतरण गराइन्छ । नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन्, जसमा २३० जना तालिमप्राप्त पाइलट कार्यरत छन् । पर्यटकले ८ हजार ५०० रुपैयाँमा १५ देखि ३० मिनेटसम्म उडानको अनुभव लिन सक्नेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हवाई सुरक्षालाई ध्यान दिँदै प्याराग्लाइडिङ उडान क्षेत्र सीमित गरिएको व्यवसायीको भनाइ छ । उडान क्षेत्र विस्तार गर्न सके विदेशी पर्यटक तथा प्रतियोगितामा सहभागी हुने खेलाडी आकर्षित गर्न सकिने उनीहरूको अपेक्षा छ ।

पोखरामा प्याराग्लाइडिङसँगै बञ्जी, स्काइडाइभिङ, अल्ट्रालाइट र हट एयर बेलुनजस्ता साहसिक पर्यटन गतिविधि पनि सञ्चालन हुँदै आएका छन् । साहसिक पर्यटनलाई थप प्रवर्द्धन गर्न सके पोखराको पर्यटन क्षेत्रले आर्थिक लाभ लिन सक्ने पर्यटन व्यवसायीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *