नेपाल ऋणको भारीमा : सार्वजनिक ऋण पौने ३० खर्ब पुग्याे

काठमाडौँ, १० मङ्सिर । नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा सार्वजनिक ऋण उक्त बिन्दुमा पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ। कुल ऋण जीडीपीको ४५.०८ प्रतिशत बराबर पुगेको छ।

चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर कात्तिक मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।

प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ। वार्षिक लक्ष्यअनुसार आन्तरिक ऋणको ३०.४९ प्रतिशत र वैदेशिक ऋणको ११.६२ प्रतिशत मात्रै प्राप्त भएको छ।

प्रतिवेदनले सार्वजनिक ऋण परिचालनमा सरकारको आन्तरिक ऋणमाथिको निर्भरता बढी रहेको र वैदेशिक ऋण प्राप्तिको गति सुस्त रहेको देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *