सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार

सर्लाही, २४ साउन । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएकाे छ भने बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मंगलबार बाँके खोलामा फेला परेको हो ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाकाे हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गरिरहेका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको छ । उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।

बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभयो ।