पोखरा-दुबई सिधा उडानको टिकट बुकिङ खुल्यो, असोज ७ देखि फ्लाई दुबईको दैनिक उडान
कास्की, २८ जेठ । लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने निश्चित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को सरकारी वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला गरेको हो।
विमानस्थल उद्घाटन भएको तीन वर्षपछि पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएपछि पोखराका पर्यटन व्यवसायी र स्थानीय बासिन्दामा उत्साह छाएको छ। फ्लाई दुबईले आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत टिकट बुकिङ सुरु गरेको छ।
सन् २०२३ जनवरी १ मा भव्य रूपमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म आन्तरिक उडान र केही चार्टर उडानमा मात्र सीमित थियो। फ्लाई दुबईको यो सेवा सुरु भएसँगै पोखरा अब औपचारिक रूपमा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुनेछ।
यसअघि यो विमानस्थलबाट चीन र भुटानका लागि चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्रै हुँदै आएका थिए। अब भने दुबईमार्फत पोखरा विश्वका सयौँ सहरहरूसँग सिधा हवाई सञ्जालमा जोडिनेछ।