सत्तारुढ गठबन्धन बैठककाे निर्णय : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन र गौर हत्याकाण्डको छानबिन नगर्ने

काठमाडौं, २९ साउन । सत्तारुढ गठबन्धन दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नपर्ने निष्कर्ष निकालेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेकाे सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागलाई अस्वीकार गरेको हाे ।

गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो ।

बैठकमा सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि चर्चा भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा ठोस जवाफ भने दिनुभएन उहाँले दोषी कोही पनि नछुट्ने बताउनुभयाे ।

बैठकमा गौर हत्याकाण्डका विषयमा पनि छलफल भएको थियो । छलफलले गौर हत्याकाण्डमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले नेता उपेन्द्र यादवलाई तान्नुको औचित्य नभएकाे निष्कर्ष निकालेकाे नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभयाे ।

नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो ।