स्वयम्भूबासीको सास्ती र महानगरको तत्परता : बाँदर व्यवस्थापनका लागि कार्यवाहक प्रमुखको अग्रसरता
काठमाडौँ, साउन ३० । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रको सौन्दर्य जति लोभलाग्दो छ, त्यहाँका बासिन्दाको दैनिकी भने उति नै कष्टकर बन्दै गएको छ। सामान्यतया मानिसहरू चिडियाखानामा गएर जनावरहरूलाई हेर्ने गर्नुहुन्छ । तर, स्वयम्भू क्षेत्रका बासिन्दाहरू भने बाँदरको भयले आफ्नै घरमा जाली र तारबार लगाएर बस्न बाध्य हुनुहुन्छ ।
साउन ३० गते काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको कार्यकक्षमा भएको छलफलमा स्थानीय बासिन्दाहरूले आफ्नो गम्भीर पीडा व्यक्त गर्नुभयो। “हामी बाँदर विरोधी होइनौँ, तर उनीहरूको आतंकका कारण आफ्नै घरमा सुरक्षित बस्न सक्ने अवस्था रहेन ।” भन्दै स्थानीय महानुभावहरूले व्यवस्थापनका लागि विनम्र अनुरोध गर्नुभयो ।
घरभित्रै छिरेर दिइने सास्ती
छलफलका क्रममा स्थानीयबासीहरूले बाँदरले घरभित्रै पसेर गर्ने क्षतिको विवरण सुनाउनुभयो । “हुुुलका हुल बाँदरहरू घरभित्रै प्रवेश गर्छन् । एकपटक पसेपछि ५ देखि १० हजार रुपैयाँसम्मको सामान नोक्सान गरिदिन्छन् ।” उहाँहरूले आफ्नो मर्का पोख्नुभयो । विशेषगरी भान्साबाट खानेकुराको बास्ना आएपछि बाँदरहरू झन् उग्र हुने र जसरी पनि भित्र छिर्न खोज्ने गरेको अनुभव उहाँहरूले सुनाउनुभयो ।
बढ्दो संख्या र विज्ञको विश्लेषण
बैठकमा स्थानीय श्याम प्रधानले बाँदरको संख्यात्मक वृद्धिका बारेमा तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँका अनुसार, २०७५/७६ तिर करिब १ हजार २० को संख्यामा रहेका बाँदरहरू अहिले बढेर करिब १ हजार ७ सय पुगेका छन् । प्रधानले ती बाँदरहरू ‘ओल्ड वर्ल्ड’ प्रजातिका भएको र हाल १० वटा विभिन्न समूहमा सक्रिय रहेको जानकारी गराउनुभयो ।
त्यस्तै, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले थापाथली र त्रिपुरेश्वर क्षेत्रको समस्या राख्दै भन्नुभयो, “त्यहाँका बाँदरहरू रातो रङप्रति निकै आक्रामक छन् । उनीहरूले बाटो हिँड्ने मानिसहरूलाई चिथोर्ने र टोक्ने गरेकाले सर्वसाधारण निकै त्रसित हुनुहुन्छ ।”
क्षेत्राधिकारको अलमल र जनप्रतिनिधिको चिन्ता
बाँदर व्यवस्थापनका लागि यसअघि पनि पटक-पटक प्रयास नभएका भने होइनन्। वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलज्यूले यसअघिका चुनौतीहरूका बारेमा प्रष्ट पार्दै भन्नुभयो, “व्यवस्थापनको काम संघ सरकारको हो कि स्थानीय सरकारको भन्ने स्पष्ट हुन नसक्दा कार्यविधि बनाउन ढिलाइ भयो । तर अब महानगरपालिकाबाट यसको ठोस समाधान आउनेमा हामी विश्वस्त छौँ।” उहाँले यसअघि विज्ञहरूले समस्या मात्र देखाएको तर व्यावहारिक समाधान नदिएकोमा पनि चासो व्यक्त गर्नुभयो ।
कार्यवाहक प्रमुखज्यूको प्रतिबद्धता
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका कुरा धैर्यपूर्वक सुनिसकेपछि कार्यवाहक प्रमुख सुनिता डंगोलज्यूले बाँदरको मानवीय र दिगो व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी स्थानीयबासी, वन्यजन्तु विज्ञ र सरोकारवालाहरू मिलेर यसको दिगो समाधान खोज्नेछौँ। तत्कालका लागि एउटा नमूना कार्यक्रम सुरु गरेर कार्ययोजनाका साथ अघि बढ्नेछौँ ।”
छलफलमा बाँदरको मनोविज्ञान र आवश्यकतालाई बुझेर व्यवस्थापन गर्नुपर्ने सुझावहरू पनि आएका छन्। जमिनको स्वरुप र रुख-बिरुवालाई क्षति नपुर्याई सुरक्षित ‘केज’ निर्माण गरी उनीहरूलाई अनुकूल वातावरण दिन सकिने विषयमा कार्यवाहक प्रमुखज्यूले सकारात्मक चासो देखाउनुभयो ।
सहरी क्षेत्रमा मानिस र बाँदरबिच बढ्दो यो द्वन्द्वलाई न्यून गर्न महानगरपालिकाले देखाएको यो सक्रियताले स्वयम्भूबासीहरूमा आशाको सञ्चार गरेको छ। जनप्रतिनिधि र स्थानीयको यो सहकार्यले चाँडै नै एउटा मानवीय र दिगो निकास पाउने अपेक्षा गरिएको छ ।