बाँकेमा साइबर अपराधको फेरिँदो चित्र: उजुरीको सङ्ख्या घट्याे मुद्दा बढ्यो

नेपालगन्ज, ३० साउन । बाँके जिल्लामा साइबर अपराधको प्रवृत्तिमा रोचक परिवर्तन देखिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको पछिल्लो तथ्याङ्कअनुसार, प्रहरीमा आउने सामान्य उजुरीको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ भने गम्भीर प्रकृतिका घटनामा मुद्दा दर्ता हुने क्रम भने बढ्दो छ।

आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी ३०९ वटा उजुरी परेका थिए। तर, हाल ती उजुरीको सङ्ख्या घटेर १३१ मा खुम्चिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उजुरी घट्नुमा जनचेतनामूलक कार्यक्रमको प्रभाव मुख्य कारण हो। “प्रहरीले सञ्चालन गरेका सचेतना कार्यक्रमका कारण मानिसहरू सामाजिक सञ्जालको प्रयोगमा पहिलेभन्दा सतर्क हुन थालेका छन्,” डीएसपी राठौरले भन्नुभयो, “धेरैजसो उजुरीहरूमा छलफलमार्फत मेलमिलाप हुने गरेको छ।” प्राप्त उजुरीहरूमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुर क्षेत्रका रहेका छन्।

उजुरीको सङ्ख्या घटे पनि कानुन नै आकर्षित हुने गम्भीर घटनामा मुद्दा चलाउने क्रम भने बढेको छ। हाल बाँकेमा विद्युतीय अपराधसँग सम्बन्धित ५ वटा मुद्दा प्रक्रियामा छन्। तीमध्ये २ वटा मुद्दा गत आर्थिक वर्षका हुन् भने ३ वटा मुद्दा चालू आर्थिक वर्षमा दर्ता भएका हुन्।

तीमध्ये ४ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय र एउटा इलाका प्रहरी कार्यालय कोहलपुरमा दर्ता भएका छन्। यी मुद्दामा संलग्न २ जना पक्राउ परी धरौटीमा रिहा भइसकेका छन् भने ३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फेसबुक, इन्स्टाग्राम, भाइबर र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत साइबर कानुन उल्लङ्घनका घटना बढी हुने गरेका छन्। नेपालबाहिर (विदेश) बाट समेत नेपाली नागरिकलाई लक्षित गरी साइबर अपराध गर्ने गरेको पाइएको छ।
साइबर अपराधमा संलग्नहरूलाई सरकारले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाउने गरेको छ।
विगतका तथ्याङ्कहरू:
आव २०७९/८० मा: १०६ उजुरी
आव २०७८/७९ मा: ५८ उजुरी
आव २०८१/८२ मा: ३०९ उजुरी (उच्चतम)
हाल: १३१ उजुरी

प्रहरीले प्रविधिको बढ्दो प्रयोगसँगै अपराधीहरूले नयाँ–नयाँ शैली अपनाउन सक्ने भन्दै सामाजिक सञ्जालमा व्यक्तिगत विवरणहरू शेयर गर्दा र अपरिचित व्यक्तिसँग संवाद गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।